Hamro Sanchar

भूकम्प पीडितलाई राहत वितरणमा भेदभाव नगर्न निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २४ गते


रुकुम पश्चिम, कात्तिक २४- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई भेदभावरहित तरिकाले राहत वितरण गर्न निर्देशन दिएका छन् ।

भूकम्प प्रभावितहरूको अवस्था बुझ्न रुकुम पश्चिम आएका सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्ने बताए । विपद्को सामना गर्न सिङ्गो राज्य एक भएर लागेको बताउँदै उनले सरकार जनताको साथमा छ भने देखाउन कुनै पनि कन्जुस्याइँ नगर्न निर्देशन दिए ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बेलुका भएको भूकम्प पीडितहरूको राहत, पुनर्स्थापना एवम् प्रभावित क्षेत्रको पुनर्निर्माण विषयमा भएको छलफल कार्यक्रममा सभापति खतिवडाले त्रिपाल र टेन्टमुनि बसिरहेकाहरूको लागि अस्थायी आवासको व्यवस्था गर्न जरुरी रहेको जनाए । विद्यालय भवन, स्वास्थ्य संस्था तथा खानेपानीको आयोजनाहरूमा पुगेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न समेत उनले निर्देशन गए ।

चिसोको कारण प्रभावितहरूको स्वास्थ्य अवस्था बिग्रन सक्ने तर्फ सचेत गराउँदै उनले सम्बन्धित निकायसँगको प्रभावकारी समन्वयमा काम गर्नुपर्ने उल्लेख गरे । बैठकमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लामा भएको मानवीय क्षति र भौतिक क्षतिको अवस्थाबारेमा जानकारी गराएका थिए । खोज, उद्धार र उपचारको काममा सक्रियतापछि राहत वितरणको काम भइरहेको जानकारी दिँदै प्रजिअ पन्तले एक द्वार प्रणाली मार्फत राहत वितरण भइरहेको र राहतको अभाव कायमै रहेको बताए ।

जिल्लामा प्राप्त राहतको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा अभिलेखीकरण गरेर स्थानीय तह मार्फत राहत वितरण भइरहेको उनले जानकारी दिए । भूकम्पको कारण रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको थियो । १६ हजार ५७० घर पूर्ण क्षति र एक हजार ९६१ घर आंशिक क्षति भएको प्रारम्भिक तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समितिमा रहेको छ ।


प्रतिकृया दिनुहोस्