
पोखरा, कात्तिक १७- ‘पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको छ । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका स्मिथको ८७ वर्षको उमेरमा निधन भएको हो ।
उनको पोखरामा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताए । उनी साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका थिए । स्वास्थ्य बिग्रँदै गएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए ।
उनको स्मरण शक्तिसमेत घटेको थियो ।
वि.सं. २०२२ मा बेलायतबाट उनी नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए । गोरखाको अमरज्योतिमा पढाएका थिए । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई उनका विद्यार्थी हुन् ।
उनको योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो ।