
काठमाडौं, कात्तिक ३- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटारमा रहेको काँडाघारी खानेपानी आयोजना अन्तर्गत ९६ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ ।
नगरपालिकाका वडा नम्बर ७ र ९ समावेश भएको उक्त आयोजना सम्पन्न गर्न ९ वटा ब्लकमा बिभाजन गरिएको छ । सो अन्तर्गत ब्लक नम्बर १ र ५ गरि पहिलो चरणमा ९६ घरधुरीमा धारा जडान गरिएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जडान गरिएका धाराको टुटी खोलेर एकसाथ पानी पठाउदै उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कार्कीले हिजो जनतालाई खानेपानी खुवाउने सोच राम्रो, तर त्यसको प्राविधिक पक्षहरुको तयारी र सो अनुरुपको कार्ययोजना बनाउने कुरामा हिजोको नेतृत्व चुकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले काम लगभग सम्पन्न भएको प्रचार गरिएपनि प्रेसर टेस्टिङ गर्दा थुप्रै लापरबाहीहरु भेटिएको बताए ।
वि.सं २०७२ सालमा नेपाल सरकारबाट स्वीकृत भएको आयोजनाको काम नगरपालिकाको अघिल्लो नेतृत्वले अघि बढाएको थियो ।
२५ करोडको लागत तयार पारेर यो आयोजना अघि बढेको हो । संघीय आयोजना भएपनि यसलाई अघि बढाउन नगरपालिकाले ठूलो मात्रामा बजेट खर्च गरेको छ ।
“हिजो जनतालाई खानेपानी खुवाउने सोच राम्रो, तर त्यसको प्राविधिक पक्षहरुको तयारी र सो अनुरुपको कार्ययोजना बनाउने कुरामा हिजोको नेतृत्व चुकेको छ । काम लगभग सम्पन्न भएको प्रचार गरिएपनि थुप्रै लापरबाहीहरु भेटिए । कामलाई सल्टाउन नै निकै सकस परेको छ’ मेयर कार्कीले भने ।
तथापी तीब्र गतिमा प्राविधिक सहितको टोलीले काम गरिरहेकोले आयोजनाको कामले सफलता पाइरहेको उनको भनाई छ । सबै समस्याको समाधान गरेर यसै आयोजनामार्फत जनतालाई २०८० सालभित्रै प्रत्येक घरमा स्वच्छ खानेपानी वितरण गर्ने मेयर कार्कीले प्रतिबद्धता व्यक्त गरे । आफु मेयरको रुपमा आइसकेपश्चात आयोजनालाई गहन रुपमा लिएको उनको भनाई छ ।
नगरपालिका नगरबासीहरुलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन र नगरबासीमा खानेपानीको पहुँच पुर्याउनका लागि खानेपानी शाखा मार्फत दशैं लगत्तै खानेपानी बोर्ड गठन गरेर आफ्नो कार्यकालभित्र जनताका घरमा स्वच्छ खानेपानी पुर्याउने योजना रहेको उनले जानकारी दिए ।
यस्तै मेयर कार्कीले उपभोक्ता समिति सक्रिय नभएको भन्दै गुनासो पोखेका थिए । उनले आयोजनालाई समयमै सम्पन्न गर्न र जनताको मनोभावनालाई ध्यानमा राखेर काम गर्न नयाँ किसिमको सक्रिय उपभोक्ता समिति निर्माण गर्नसमेत निर्देशन दिएका थिए । उनले चुनावका बेला खानेपानीको समस्या समाधान गर्छु भन्दै भोट माग्न आउने नेतालाई फेरी त्यहि अवस्थामा त्यहि नारा लिएर भोट माग्न आएको खण्डमा स्थानीयले लौरो लिएर लखेट्नु पर्ने बताए ।
विशेषत यो आयोजना नगरपालिकाको ७ र ९ वडालाई लक्षित गरेर अघि बढाइएको हो । आयोजनाबाट करिब ६ हजार ५ सय घरधुरी लाभान्वित हुनेछन् ।
आयोजनाको हालसम्म ६३ किलोमिटर पाइपलाइन विस्तार, ४ लाख ५० हजार लिटरको ओभर हेड ट्यांकी, २ लाख ५० हजारको अण्डर ग्राउण्ड ट्यांकी, ३ वटा बोरहोल संचालनमा ल्याएको र ९६ वटा धारा जडान गरिएको चिफ इन्जिनियर पारसमणि तिमिल्सिनाले हाम्रोसंचारलाई जानकारी दिए । उनकाअनुसार दशैं लगत्तै ब्लक १,२,३, र ५ लाई प्राथमिकतामा राखेर १ हजार घरधुरीमा जडान गरिने छ । यस्तै कतै चुहावट नदेखिए वा बाधा-ब्यबधान व्यहोर्नु नपरे ३ महिनाभित्र र समस्या झेल्नु परेको खण्डमा ६ महिनाभित्र पानी पुर्याइने इन्जिनियर तिमिल्सिनाको भनाइ छ ।
काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जीवन थापाको सभापतित्व तथा मेयर कार्कीको प्रमुख आतिथ्यमा भएको बडा दशैं, शुभदिपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान एवं खानेपानी धारा उद्घाटन कार्यक्रममा उपमेयर शान्ता थापा, वडा नम्बर ७ का वडाअध्यक्ष भीमसेन थापा, ९ का वडाअध्यक्ष अनिल थापा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
उपभोक्ता समितिका सचिव डोलनाथ पोख्रेलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष भागीरथी पन्त सेडाईले स्वागत मन्तब्य दिएकी थिइन् ।




























