
रसुवा, असोज २३- रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा मिनीट्रक पल्टिँदा तीन जनाको मृत्यु पाँच जना घाइते भएका छन् ।
नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको बा ५ ख ५७८ नम्बरको आयसर मिनीट्रक सोमबार बेलुकी पौने ६ बजे दुर्घटना हुँदा मानवीय क्षति भएको हो । दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले बताए । दुर्घटनामा घाइतेमध्ये एक जनाको खुट्टा भाँचिएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य सामान्य घाइते भएकाले उपचारार्थ असप्ताल नलगिएको उनको भनाइ छ ।