
काठमाडौं, असोज २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा बजार अनुगमन गरिएको छ । वडाअध्यक्ष प्रकाश फुयालको सक्रियतामा वडा कर्मचारी, जनप्रतिनिधि, नगरप्रहरी तथा स्थानीय प्रशासनको संयुक्त टोलीले अनुगमन गरेको हो ।
नजिकिँदै गरेको बडादशैं, दिपावली तथा छठ पर्वलाई लक्षित गरी वडाको सिर्जनाटोल, दक्षिणढोका देखी नोर्लिङ गेटसम्मका बजारका खाद्य, मासु तथा फलफूल पसलहरुका अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलहरुमा हालसम्म त्यस्तो अखाध्य बस्तुहरु नभेटिएको वडा अध्यक्ष फुयालले वताए । तर व्यवसाय दर्ता नभएका तथा नविकरण नगरिएका पसलहरु बढी मात्रामा संचालन भएको पाइएको उनले जानकारी दिए । ‘पहिलो चरणमा सिर्जनाटोल, दक्षिणढोका देखी नोर्लिङ गेटसम्मका बजारका खाद्य, मासु तथा फलफूल पसल, गोदाम, कारखाना, होटल, काठ गोदामहरुमा अनुगमन गरियो, त्यसक्रममा पसलहरुमा अखाध्य बस्तु, सडेगलेका, म्याद सकिएका भेतिएनन् तर धेरैले दर्ता नगरेरै ब्यबसाय संचालन गरेको पाइयो र दर्ता गरिएका ब्यबसाय पनि नवीकरण नगरेको भेटियो । त्यस्ता संचालकलाई व्यवसाय दर्ता गर्न तथा नविकरण गर्न निर्देशन दिएका छौं, उनले भने ।
व्यवसाय दर्ता गर्न तथा नविकरण गर्न निर्देशन दिएपछि आजभोली व्यवसाय दर्ता र नवीकरण गर्न आउनेको संख्या बढेको वडाअध्यक्ष फुयालको भनाई छ ।
यस्तै सरसफाई, अब्यवस्थित सवारी पार्किङको बिषयमा पनि ट्राफिक प्रहरीसहितको सहयोगमा अनुगमन गरिएको छ ।
अनुगमनमा पुगेको टोलीले कुहिएका फलफूल, सडेगलेका, म्याद सकिएका अखाध्य बस्तु बिक्रिवितरण नगर्न व्यापारिहरुलाई सचेत गराउदै मानव स्वास्थ्यमा खेलवाड गर्नेहरुलाई र चाडपर्वको मौका छोपेर कालोबजारी गर्नेलाई कानुनी कारवाहीमा ल्याउने भन्दै चेतावनी दिएको छ ।
बजारमा म्याद गुज्रिएका तथा अखाद्य पदार्थहरुको बिक्रीवितरण भैरहेको हुन सक्ने भन्दै वडाले बजार अनुगमनलाई अन्य स्थानमा पनि निरन्तरता दिने बताएको छ ।

























