Skip

Hamro Sanchar

कागेश्वरीमा लंगुरबुर्जा र जुवातासलगायतका खेल पूर्ण रुपमा रोक लगाउछौं- नगरप्रमुख कार्की

प्रदिप नेपाली प्रकाशित : २०८० असोज, २२ गते


काठमाडौं, असोज २२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले पैसाको बाजी थापेर खेलिने लंगुरबुर्जा, जुवातासलगायतका खेल खेल्न र खेलाउन रोक लगाउने भएको छ ।

नजिकिँदै गरेको बडादशैं, दिपावली तथा छठ पर्वलाई लक्षित गरी महानगरीय प्रहरी वृत्त बौद्धको समन्वयमा सुरक्षा योजना तय गर्न लागिएको नगरप्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचारलाई जानकारी दिए । नगरपालिकाले नगरपालिकाभित्र हुनसक्ने सम्भावित अपराधिक घटना नियन्त्रणको लागि यस्तो सुरक्षा योजना ल्याउन लागेको हो ।

नगरपालिकाले अपराधिक घटना नियन्त्रण, बजार तथा बिभिन्न चोकमा हुन सक्ने अवाञ्छित कार्य, दुर्घटना न्यूनिकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै वित्तिय संस्थाहरु, मेला, हाटबजार, धार्मिक मठ-मन्दिर, व्यापारिक केन्द्र, सरकारी कार्यालयहरू तथा महत्वपूर्ण प्रतिष्ठानहरूमा हुन सक्ने चोरी लुटपाटका घटनाहरूलाई पनि प्राथमिकतामा राखेर सुरक्षा योजनामा समावेश गर्न लागिएको नगरप्रमुख कार्कीले बताए ।

दशैं अगावै नगरपालिकाका बिभिन्न स्थानमा लंगुरबुर्जा र जुवातास खेल्ने र खेलाउने कार्य भैरहेकाले त्यसलाई पूर्ण रुपमा बन्द गराइने नगरप्रमुख कार्कीले प्रतिबद्धता जनाए । उनले आजै महानगरीय वृत्त बौद्धका प्रमुख डिएसपी राजु पाण्डेलाई यस बिषयमा ध्यानाकर्षण गराईसकेको जानकारी दिए । उनले भने, ‘चाडपर्व अगावै बिभिन्न स्थानमा पैसाको बाजी थापेर लंगुरबुर्जा, जुवातास जस्ता खेल खेल्ने र खेलाउने अनि झै-झगडा जस्ता अबान्छनिय र समाजलाई त्रसित पार्ने गतिविधि बढ्दै गैरहेको गुनासो आएको छ । यस बिषयमा महानगरीय वृत्त बौद्धका डिएसपीलाई जानकारी गराएको छु र त्यस्ता गतिविधि भए-गरेमा ठाउँको ठाउँ कारबाही प्रक्रिया अगाडी बढाउन पनि भनेको छु । उहाँले सबै कार्यमा सहयोग गर्ने बचन दिनुभएको छ । सुरक्षा योजनालाई प्रभावकारी बनाउनको लागि हामी फेरी बसेर छलफल गर्नेछौ ।’

आइतबार साँझ नगरपालिकाको वडा नम्बर ६ स्थित मुलपानीको बाबाचोकमा लंगुरबुर्जा खेल भैरहेको स्थानमा ठुलो ग्याङ फाइट भएको थियो । त्यसक्रममा पाटीचौरको प्रहरी टोलीले झगडा नियन्त्रणमा लिन नसक्दा जोरपाटीबाट प्रहरी बोलाइएको थियो ।

यस्तै नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्षपनि अनुगमनलाई निरन्तरता दिन लागेको नगरप्रमुख कार्कीले जानकारी दिए । अनुगमनमा दर्ता गरे नगरेको, बजार भाउ, मिति गुज्रेका सामान आदिको बारेमा विशेष चासो राखिने उनको भनाई छ ।


प्रतिकृया दिनुहोस्