Hamro Sanchar

सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २६ गते


Advertisement

काठमाडौं, साउन २६-सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् ।

मन्त्रिपरिषद्बाट पास भएर संसदमा दर्ता हुन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरु उत्रिएका थिए । निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको थप घोषणा गरेपछि सरकारले प्याब्सनका प्रतिनिधिलाई छलफलमा बोलाएको हो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का र शिक्षामन्त्री अशोक राईसँग भएको प्याब्सन प्रतिनिधिको छलफलमा जुटेको सहमतिपछि निजी विद्यालय सञ्चालकको आन्दोलन फिर्ता भएको थियो । सरोकारवाला पक्षलाई नै वेवास्ता गरेर शिक्षा विधेयक अघि बढ्न लागेको भन्दै निजी सञ्चालकहरुले विरोध गरेका थिए । सरकार सरोकारवालाको पक्षमा लचक बन्ने भएसँगै निजी विद्यालय सञ्चालकहरुले तत्काललाई आन्दोलन फिर्ता लिएको जनाएको छ ।

सरोकारवाला पक्षले आफूहरुको माग पूरा नभए आइतबारदेखि देशैभरी सञ्चालित निजी लगानीका मन्टेश्वरी देखि कक्षा १२ सम्मका विद्यालयहरूमा पठनपाठन रोक्ने निजी विद्यालय सञ्चालकहरुले चेतावनी दिएका थिए । अपेन,नेसनल प्याब्सन,हिसान र प्याब्सनका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका थिए ।


प्रतिकृया दिनुहोस्