Hamro Sanchar

फिफा महिला विश्वकपमा स्पेनको सहज जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ५ गते


Advertisement

एजेन्सी, साउन ५ -अस्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकप फुटबलमा स्पेनले कोस्टारिकामाथि ३-० को सहज जित हात पारेको छ ।

समूह सी अन्तर्गत न्युजिल्याण्डको वेलिङ्गटन रिजनल स्टेडियममा भएको खेलमा स्पेनले एकपक्षीय जित निकालेको हो । यो खेलमा तीनै गोल पहिलो हाफमा सात मिनेटभित्र भएको थियो । खेलको २१औं मिनेटमा कोस्टारिकाकी भालेइरियो काम्पो गुइटेरेजले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो ।

अइताना बोनमाटीले २३औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता दोब्बर पारिन् । स्पेनका लागि तेस्रो गोल इस्थर गोन्जालेजले २७औं मिनेटमा गरिन् । जितपछि स्पेनले समूह सी मा ३ अंक जोडेको छ । अब स्पेनले जाम्बिया र कोस्टारिकाले जापानसँग खेल्नेछ ।

स्वीट्जरल्याण्डले फिलिपिन्सलाई हरायो

शुक्रबार नै भएको समूह ए को खेलमा स्वीट्जरल्याण्डले फिलिपिन्सलाई २-० ले पराजित गरेको छ । न्युजिल्याण्डको डुनेदिन स्टेडियममा भएको खेलमा स्वीट्जरल्याण्डका लागि रामोना बचमानले ४५औं र सेराइएना पिउबेलले गोल गरिन् ।

स्वीट्जरल्याण्डले अब दोस्रो खेलमा नर्वेसँग खेल्नेछ भने फिलिपिन्सले घरेलु टोली न्युजिल्याण्डसँग खेल्नेछ ।

क्यानडा र नाइजेरिया गोलरहित बराबरीमा

शुक्रबारै समूह बी अन्तर्गत अस्ट्रेलियाको मेलवर्न स्टेडियममा भएको खेलमा भने क्यानडाले पेनाल्टीमा गोल गर्न नसक्दा नाइजेरियासँग गोलरहित बराबरी खेलेको छ । क्यानडाकी क्रिस्टिन सिनक्लेरको पेनाल्टी प्रहार नाइजेरियाकी गोलकिपर चियामका नादोजीले बचाइन् ।

नाइजेरियाका डेबोराह अजिबोला अबिओदन जारी विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनिन् ।


प्रतिकृया दिनुहोस्