काठमाडौं, असार १६- नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक (जिएम) बाट राजीनामा दिएका वृतान्त खनालले अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर आरोप लगाएका छन्।
केही दिनअघि राजीनामा दिएका खनालको शुक्रबार बसेको बोर्ड बैठकले राजीनामा स्वीकृत गरेको थियो। खनालको राजीनामापछि क्यानले क्रिकेट म्यानेजर विनोद दासलाई कार्यबाहक जिमएमको जिम्मेवारी दिएको छ।
राजीनामा दिनुको कारणबारे खनालले शनिबार फेसबुकमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिच्याइँ, सबै विषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने, र काम गर्न नमिलेपछि शासकीय शैलीमा बर्खास्तीको धम्की दिन्ने बानी रहेको हुँदा मैले यो दास मानसिकतामा काम गर्न नसकिने हुँदा राजीनामा दिएको हुँ।’