
काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न भन्दै व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति नगरपालिकाबाटै हुने जानकारी दिएको हो ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः स्वीकृतिका लागि आवेदन गर्ने कार्य नगरपालिकाको रोजगार सेवा केन्द्रबाट हुने बताइएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
यसअघि, चैत १६ गते नेपाल सरकार प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री स्तरीयबाट सम्बन्धित स्थानीय तहबाटै व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने निर्णय भएको थियो ।
सोही निर्णय अनुसार नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिने व्यवस्था मिलाइएको बताइएको छ ।