Hamro Sanchar

खसी नकाटेको भन्दै साहुद्वारा चरम यातना : आगो लगाएर नालामा फालेको पाँच दिनपछि मृत्यु

प्रकाशित : २०७९ पुष, ११ गते


Advertisement

सप्तरी, पुस ११- सम्सी गाउँपालिका– २ पर्सा देवाडका ४० वर्षीय मोहम्मद खुर्सेद अन्सारीको चरम यातनाका कारण मृत्यु भएको छ । उनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो ।

गत बुधबार बिहान करिब ४ बजे घरबाट हिँडेका अन्सारी अपराह्न ३ बजे गाउँकै नालामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई परिवारले तत्काल रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगेको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि जनकपुरस्थित जानकी हेल्थ केयर लगिएको थियो । उनको आइतबार बिहान ९ बजे मृत्यु भएको हो । उनलाई ३५ वर्षीय शेष अब्दुस सलामले चरम यातना दिएर नालामा फ्याँकेको आरोप छ ।

इलाका प्रहरी कार्यालय गौशालाले कुटपिट गरी चरम यातना दिएर अन्सारीलाई घाइते बनाएको भनी परेको उजुरीका आधारमा आरोपी सलामलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । मृतकका आफन्तले आरोपीविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिएकाले आरोपीमाथि कर्तव्य ज्यान मुद्दा चलाइने इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए । सोही घटनामा संलग्न रहेको भनिएका ४२ वर्षीय शेष जसाउद्दिन र २१ वर्षीय जिनमा भनिने फरार छन् ।

अन्सारीलाई चरम यातना दिएको भिडियोसमेत सार्वजनिक भएको छ । आरोपी शेष अब्दुस सलामले कुटपिट गरेको भिडियो बनाउन लगाएको प्रस्ट देखिएको छ । उनले आफ्नो र मृत्यु भएका अन्सारीको पूरा शरीर आउने गरी भिडियो खिच्न भनेका छन् । भिडियोमा अन्सारीको कट्टु खोलेर उनको मलद्वारमा आगो लगाउने प्रयास गरिरहेको र निर्ममतापूर्वक कुटपिट गरेको देखिन्छ । अन्सारीको दुवै हात बाँधेर कुटपिट गर्नुका साथै मलद्वारमा उखुको लौरो हालेको देखिन्छ ।

भिडियोमा आरोपी शेष अब्दुस सलामले बजारमा काटेको एक खसीको हिसाब नदिएको र बुधबारसमेत खसी किन्न नगएको रिसमा अन्सारीलाई चरम यातना दिएको भिडियोमै बताएका छन् । अन्सारीले आफूले कुनै चोरी नगरेको र खसीको हिसाबसमेत दिने भनिरहँदासमेत उनीमाथि निर्ममतापूर्वक कुटपिट गरिएको छ । अन्सारीले पहिले आफैँ खसी काट्ने गरेकोमा उनीसँग पुँजी अभाव भएपछि शेष अब्दुस सलामले आफ्नो किराना पसल र खसी काट्ने काम हेर्ने गरी मासिक १५ हजार तलबमा काममा राखेका थिए । उनले पसल हेर्नेदेखि घरको काम, चिया बनाउने, खाना बनाउने र बजार लागेको दिन खसी काटेर मासु बेच्दै आएका थिए ।

मृतक अन्सारीका भाइ मोहम्मद जमसद अन्सारीले आफ्नो दाजुलाई चरम यातना दिएर हत्या गरेको बताएका छन् । उनले दाजुको मलद्वारमा खुर्सानी, फर्निचरको धुलो र टमाटरसमेत कोचेको बताए । ‘मेरो दाइको जिउभरि करेन्ट लगाइयो, आगोले जलाइयो र फर्साले अनुहारसमेत काटियो,’ उनले भने । नयाँ पत्रिकामा खबर छ ।


प्रतिकृया दिनुहोस्