Hamro Sanchar

सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ७ गते


Advertisement

काठमाडौं । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी आज बिहीबार रहेको छ ।

सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले पुनरावेदनको सुनुवाइ बिहीबार रहेको जानकारी दिएका छन् । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

धरौटी वा साधारण तारेखमा छाड्न उनलाई न्यायाधीशले अस्वीकार गरेका थिए । सन्दीप थुनामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन्। सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।

सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन् । अर्कातर्फ आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ ।

आरोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएकोको दाबी उनीहरूले गर्दै आएका थिए । यसैबिच पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिती २०६१ असार १८ गते रहेको पत्र काठमाडौं जिल्ला अदालतलाई पठाएको छ।

अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिती त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ । उक्त गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ ।


प्रतिकृया दिनुहोस्