
कुवेत, भदौ ६- कुवेतमा लगभग ६५/७० हजार नेपाली कामदारहरु कार्यरत छन् । रोजगारीकै लागि एक दशक पहिले कुवेत पुगेकी झापाकी शान्तामाया मगर र पाल्पाका सुर्य आले मगरको एक आपासमा भेट हुन्छ । उनिहरु दुवै जनाको आ-आफ्नो परिवार छन् नेपालमा । परिवारलाइ नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका च्यातिएका कपडा फेर्ने उदेश्यले कुवेत आइपुगेका उनिहरुबिच माया प्रेम साटासाट हुन थाल्छ ।
दुवै जना आफू कार्यरत कम्पनी/स्पोन्सर छोडेर अवैधानिक (इल्लिगल) भएर संगै बस्न थाल्छन् ।
माया-पिरती जति पुरानो हुँदै गयो पेटको बच्चाले पनि संसार हेर्न हतार गरिरहेको थियो । नभन्दै एक दिन त्यो जोडीको चिनो स्वरुप बच्चा जन्मियो । कुवेतमा विवाह दर्ताको प्रमाणपत्र लिएर हस्पिटलमा जन्माएको बच्चालाइ मात्र वैधानिक अर्थात ती बाबुआमाको बच्चा मान्यता पाउँछ । तर ती जोडी अवैधानिक थिए । उनिहरुसँग विवाह दर्ताको प्रमाणपत्र पनि छैन । बच्चा सिधै अवैधानिक भयो । दुखसँग बच्चाको पालनपोषण गर्दै थिए । बच्चा तीन बर्ष पुगि सकेको छ ।
कु-कार्यको फल एक न एक दिन पर्दाफास हुन्छ नै ! एकदिन कामबाट फर्केर कोठा आउँदै गर्दा आमाबाबा दुवै जनालाइ अवैधानिक हैसियतले रहेको आरोपमा कुवेत प्रहरीले पक्राउ गरि देश निकाला गरेर नेपाल पठायो । कुवेतमा बच्चाको बिचल्ली हुन्छ । बिगत १० महिना देखि सँगै काम गर्ने २ जना नेपालीले हेरचाह गरिरहेका छन् ।
कथा यहिँ सकिँदैन । अब ती बच्चालाइ नेपाल पठाउन भनेर एनआरएनए कुवेत र नेपाली दूतावासले पहल गर्यो । बच्चा र आमा-बाउ बनेर नेपाल लैजाने सबैको ट्राभल डकुमेन्ट बनाइ दिइयो । ट्राभल डकुमेन्ट भएपछी प्रहरीले नसमात्ने भएपछि ती डुब्लिकेट बाउले मदिरा सम्बन्धी काम गर्न सुरु गरे, जुन कुवेतमा अवैधानिक ठहर्छ । र यसको सजाय स्वरुप देश निकाला गरिन्छ । अवैधानिक मदिरा सम्बन्धी काम गर्दा निक्कै राम्रो आम्दानी भैरहेको भएर उनिहरु नेपाल जाने भनेर दूतावासले बोलाउँदा गएनन् । अन्तत: ट्राभल डकुमेन्टको म्याद सकियो । त्यसपछी उनिहरु नेपालबाट सञ्चालित युट्युब च्यानल युवा मन नेपालमा म पिडित हुँ मलाइ जसरी भए पनि उद्दार गर्नु । मलाइ एनआरएनए, दूतावास र कुनै संघ-संस्थाले हेरेनन्, उद्दार गरेनन् भन्दै भिडियोमा प्रस्तुत भए । उक्त भिडियो रातारात भाइरल भयो । युट्युबरले पनि त्यसको भित्री पाटो अध्ययन नगरी भिडियो सार्बजनिक गर्यो ।
पछि यस्तो भिडियो आइसकेपछी एनआरएनएले युट्युबर संचालकसँग कुराकानी गरि भित्री पाटो बुझाउँदा अहिले ती बच्चा नेपाल पठाउन लाग्ने लागत त्यही युट्युव च्यानलले बेहोर्ने भएको छ । बच्चा नेपाल पठाउन आवस्यक प्रक्रिया अघि बढी सकेको छ ।


















