काठमाडौं, साउन १८- सत्तारूढ गठबन्धनका शीर्ष नेताहरु आगामी चुनावको मितिबारे छलफलका लागि जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेताहरू चुनावको मिति टुंगो लगाउन छलफलमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
सरकारले आगामी मंसिर ४ गतेभित्रै निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताइए पनि हालसम्म घोषणा भइसकेको छैन । चुनावको घोषणा नगर्दा प्रमुख प्रतिपक्षी एमालेले चुनाव सार्ने षडयन्त्र भइरहेको आरोप लगाउँदै आएको छ ।
निर्वाचन आयोगले पनि १ सय २० दिनको अवधि राखेर चुनाव घोषणा गर्न सरकारसँग आग्रह गरिसकेको छ । सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमा मिति तोक्ने बताए पनि त्यस दिन बैठक नै बस्न सकेन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्री र सचिवहरुलाई बोलाएर चुनावको मिति चाँडै तोकिने र त्यसको तयारीमा लाग्न निर्देशन दिएका छन् । यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि मंसिर ४ गते चुनावको मिति तोकिने अभिव्यक्ति दिँदै आएका छन् ।