काठमाडौं, साउन ७- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कांग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन् ।
शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताएका हुन् ।
उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे । अध्यक्ष दाहालले झुटो कुरालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुको कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने विषयलाई लिएर नरहेको स्पष्ट पारे ।
उनले तथ्यहीन र षड्यन्त्रमुलक प्रचारबाजीबाट सबै शतर्क हुन आवश्यक रहेको पनि बताए । प्रचण्डले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शंका नगर्न आग्रह गरे ।
प्रचण्डले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताए । उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको बताए । प्रचण्डले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा गरे ।