Hamro Sanchar

विप्लव नेकपालाई सघाएको भन्दै दूधे बालकसहित आमा पक्राउ

लखन चाैधरी प्रकाशित : २०७५/१२/२८ गते

धनगढी, चैत २८- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्व कार्यकर्तालाई सघाएको आरोपमा प्रहरीले ४ महिने शिशुसहित एक महिलालाई हिरासतमा लिएको छ ।

हिरासतमा रहेका देवर रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर कैलालीको गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको हो । सीताका अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर-भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिएको छ ।

५ बच्चाकी आमा रहेकी सीतालाई प्रहरीले हिरासतमा राखेपछि उनका घरमा ४ जना बच्चाहरूको बिचल्ली भएको पुरनले दुखेसो सुनाए । सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई विप्लव कार्यकर्ता भन्दै प्रहरीले हिरासतमा लिएको थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक खडकराज जोशीले हिरासतमा लिएकोबारे आफूहरूले पनि अनुसन्धान शुरू गरेको बताए । कसैसँग नाता भएकै कारण, घरमा बस्न दिएकै कारण, त्यो पनि दुधे बालकसहित हिरासतमा राख्नु प्रहरीको नियत गलत रहेको भन्दै सीतालाई हिरासतमुक्त गर्नुपर्ने संयोजक जोशीको भनाइ छ ।

तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले सीतालाई अपराधीको मतियार भएको कारण नियन्त्रणमा लिएको दाबी गरे । लोकान्तरमा खबर छ ।

५ जना नेता हिरासतमै

जिल्ला प्रहरी कार्यालय कैलालीले हालसम्म विप्लव नेकपाका रुपलालसहित ५ जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

बुधवार सो विप्लव नेकपाका २ जना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दगोरिया गाँउपालिका जनसरकार प्रमुख अमर बम र अखिल क्रान्तिकारी किसान संघका कैलाली अध्यक्ष उदयराज थापा रहेका छन् भने यसअघि कैलारी गाउँपालिका–५ गोबरैलाका आशिष चौधरी र लम्की चुहा नगरपालिका-१ लम्कीका ध्रुव सञ्ज्याललाई नियन्त्रणमा लिइसकेको छ ।

तर नियन्त्रणमा रहेका चौधरी र सञ्ज्याल आफ्नो कार्यकर्ता नभएको सो नेकपा स्रोतले जनाएको छ । सरकारले विप्लव नेकपालाई आपराधिक समूह घोषणा गरेपछि प्रहरीले विप्लवका नेता, कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्