Hamro Sanchar

बालुवाटारमा जग्गा किन्दा विष्णु पौडेललाई झुक्याइयो, उहाँलाई क्षतिपूर्ति दिनुपर्छ : मन्त्री बाँस्कोटा

प्रकाशित : २०७५/१२/२८ गते

काठमाडौं, चैत २८– बालुवाटारस्थित ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको विषयमा सरकारले पौडेललाई पीडितको रुपमा अर्थ्याएको छ।

नियमित पत्रकार सम्मेलनमा बिहीबार यसबारे सञ्चारकर्मीको जिज्ञासमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पौडेल धन्दामा संलग्न नभएका बरु पीडित भएका बताएका हुन्।

‘विष्णु पौडेल त्यो फर्जी धन्दामा संलग्न भएको होइन। उहाँले त कसैले लिएर आएको जग्गा, कसैको नाममा भइसकेको जग्गा उहाँले किन्नुभएको हो। त्यस्ता अरु पनि धेरै होलान्’, उनले भने, ‘उहाँ ठगीमा पर्नुभयो। उहाँ अपराधी होइन।’

पौडेल पीडित हो कि पीडक हो, सञ्चारकर्मीले छुट्याउनुपर्ने बाँस्कोटाले बताए।

‘उहाँले जारी गरेको बयानको आधारमा उहाँ पीडित भइसक्नुभयो’, बाँस्कोटाले भने, ‘किनकि उहाँले जग्गा किन्नुभयो। तर त्यो नक्कली परेछ।’

नेकपाको नेताले ७/८ आना जग्गा किनेकाले उहाँलाई पीडक बनाइएको भन्दै बाँस्कोटाले असन्तुष्टि जनाए।

‘प्रारम्भिक तहमा नक्कली कागजात सिर्जना गरेर पहिलो तहमा जसको हातमा आयो, निजी सम्पत्तिको रुपमा जसको नाममा आयो, सबभन्दा पहिले त्यसलाई कारबाही हुन्छ। अरु पीडितहरुलाई उसले क्षतिपूर्ति दिनुपर्ने हुन्छ’, उनले थपे, ‘त्यस हिसाबले त बिष्णु पौडेल र अरुले त उसबाट क्षतिपूर्ति पाउनुपर्ने भयो।’

जग्गा किन्नु नै यस फर्जी क्रियाकलापमा संगल्न हुनु नभएको बाँस्कोटाले प्रष्ट्याए। ‘जसले किन्यो ऊ के पीडक हुन्छ? किन्नु नै संलग्न हुनु हो र?’, उनले भने, ‘उहाँलाई त झुक्याइएछ नि।’

सरकारले विवादित जग्गा रोक्का राखिसकेको उनले जानकारी दिए। ‘थप छानबिन हुन्छ’, उनले भने।

प्रतिकृया दिनुहोस्