Hamro Sanchar

आत्महत्या हैन आत्मनिर्भर बनौं

सामाजिक कुरीतिले बाँधिएका महिला, दलित जति पनि छौ आत्मनिर्भर बनौ ,आफ्नो आर्थिक गतिविधि के कसरी चलाउने भन्ने कुरा आफैमा भर गरौ  । अरुले के भन्लान् भनेर टिकेको नियम तोडौ ।

लेखक : -गोपाल शिवा प्रकाशित : २०७५/१२/२८ गते

लेखक : -गोपाल शिवा

हालै मात्र चितवनको भरतपुर–१८, शशीनगरमा एकैपरिवारका ३ जना आमा माया आले मगर, छोरी विनिता र छोरा विवेकश एउटै कोठामा ३ वटा सलमा झुण्डिएको अवस्थामा मृत भेटिए।  एकैपरिवारका सदस्यहरुले सल्लाह गरेर एकै साथ् एक बारको जीन्दगीलाई कसरी परित्याग गर्न सके होलान ? के होला कारण ?  घटनाको खवर सुने देखि पटक–पटक यो प्रश्नले मेरो मन चिमोटी रहयो, चोथोरी रहयो ।घटनाको सत्य तथ्य के हो त्यो अनुसन्धानको बिषय होला र ढिलै भए पनि सत्य तथ्य वाहिर आउला ।तर जसरि केहि युटुब चयानलमा घटनाका बारेमा फलोअप गर्दै छिमेकीका कुराहरु राखीए, उनका पतिका कुरा राखीए त्यस बाट के कुरा स्पस्ट हुन्छ भने उपेक्षा , हेला  र सामाजिक हिंसाको शिकार बनेकी रहेछिन माया आले मगर।

छोरा छोरि संगै बसेको बेला गफ गर्न छिमेकी आएको  बेला बाहिर बाट कसैले चुकुल  लगाएर  माया र उनका १२/ १३ बर्षका छोराछोरीलाई रातभरी उनकै घरमा थुनेर मायालाई परपुरुषसँग सल्किएकी भनेर घोषित गर्न खोजेको रहेछ  ।आफु माथि लागेको गम्भीर आरोपको संगै रहेका आफ्ना बच्चाले प्रतिबाद गरे पनि मायाले नियति सम्झेर प्रतिवादमा उदासीन बनेकी रहेछिन  ।  तर बिडम्बना भगवान रामचन्द्रले आफ्नी पत्नीमाथि विश्वास नर्गदा सीताले अग्निपरिक्षा दिनु परेको थियो भने किवदन्ती सुनेका उनका पति र समाजले मायाको स्वास्थ्य परिक्षणको अग्निपरिक्षा गराए छन् । अग्नि, आफन्त र दुनियालाई साक्षी राखेर नयाँ सम्बन्ध स्थापित गरेकी सिताले त्यसपछिका दिन कसरी ऊपेक्षा , हेला  र सामाजिक हिंसाको शिकार बनेकी थिईन त्यसै गरि स्वास्थ्य परिक्षणको अग्निपरिक्षामा समेत सत्यतामा अडिग निक्लेकि मायाले आफु माथिको मिथ्या आरोपलाई सहजीकरण गर्दै  त्यस पछिका दिनहरु भने दुनियाको भिडमा प्रताडित हुदै आफैलाइ  खोजि रहेकि रहेछिन ।

आफ्नो घरमा आफ्ना सन्तान संगै बसेका बेला गफ गर्न आएका छिमेकीलाइ समेत थुनेर चुकुल लाइ दिएर आफ्नो ईज्जतमा हिलो छ्याप्ने अपराधी छाती फुलाएर आफ्नै अगाडी हिँड्दा , दिनप्रतिदिन आफ्नै  पति पर-परै भै दिदा उपेक्षा , हेला  र सामाजिक हिंसाको एउटा-एउटा ज्वारभाटाले पछिल्ला सात महिना मायाको मस्तिष्कको मुलायम भित्तामा कति-कति लात हानेको रहेछ।यथार्तमै हेलामा पारिएका ब्यक्तिमा स्वीकार्यताको मनोवृत्तिको विकास हुने भएकोले उनीहरूले सत्य, तथ्य र असत्य बीचको भिन्नता छुट्याउन सक्दैनन् । फलस्वरूप अनावश्यक आरोप र  आशङ्काबाट छटपटाएकि  मायाले घटना घटेको सात महिना सम्म आफुलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी रहेछिन ।जीवनभर हीनताबोध लिएर कसरी बस्ने ?  यस्तो सामाजिक बाताबरणमा म र मेरा सन्तान कसरी बाँच्ने? भन्ने अनुत्तरित प्रश्न ले गाजि रहेको मन मस्तिस्कले पति संगै काठमान्डौ आएर बस्ने चाहना प्रकट समेत गरेकी रहेछिन  तर बाँच्ने रहर जे जति थिए ति सवैमा आफन्तको व्यवहार ,उपेक्षा , हेला  र सामाजिक हिंसाको दिनप्रतिदिन बिष घोलिए पछि  बाँच्ने रहरहरुको आफै घाटी निमोठ्न बाध्य भएकी रहेछिन ।

तुलनात्मकरूपमा हाम्रो समाजमा जुन सामाजिक, सांस्कृतिक संरचना र सोच छ, त्यसले समग्रमा दलित समुदाय र महिलाहरु माथि धेरै उपेक्षा र हेला हुनेगरेको छ ।यसमा कुनै गल्ती वा भ्रम छैन, यो यथार्थ हो।  त्यस्ता उपेक्षा र हेलाको शिकार हुने दलित र महिला धेरैजसो गरीब परिवारमा रहेका छन् ।किनकी नेपाली समाजको विषम परिस्थितिलाई बुझेका पढेलेखेकोहरु पनि दासताको संस्कारमा उत्पीडित, गरिव , दलित र महिलालाई अल्झाइराखेमा मात्र आफ्नो साम्राज्य कायम रहिरहने मानसिकता पालेर बसेका छन ।  खास गरि अधिकांश घरमा एकजना लोग्ने मान्छेकै कमाइबाट परिवारका सम्पूर्ण सदस्यको जीवन निर्वाह भइरहेको हुन्छ। त्यस्तो परिस्थितिमा लोग्ने मान्छेहरुमा  म त जातैले ठुलो , म त श्रीमान हु , मैले तोकेका, ठहर्‍याएका जति सबै सत्य भन्ने दम्भ हावी भएको छ  । अर्को तिर नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका छन महिलाले । तर हरेक तह र तप्कामा अझै पनि झण्डै ८० प्रतिशतभन्दा माथि पुरुषकै बाहुल्य रहेको छ ।सामजिक रुपमा सवै खाले विभेद , उपेक्षा र हेला जीवित छ । सयौ मायाहरू प्रताडित भएर बाच्न बाध्य छन ।  यहि किसिमको चरित्र विकास भएकाले नै अहिले सम्म हाम्रो समाजमा परिवर्तन हुन सकेको  छैन ।

अर्को कुरा बैबाहिक जीवन भनेको एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, जीवन जिउने कला पनि सिकाउछ । तर नेपाली समाजका आममहिला अहिले पनि घरको आर्थिक जिम्मेवारी मेरो होइन भन्ने धारणा लिएर बसेका छन। अझ त्यसमाथि शंका गर्ने ,  याताना , विभेद , उपेक्षा र हेला गर्ने पति पर्यो भने  आफु अलि हच्किएको अथवा एकदमै बोझले अत्तालिएको जस्तो अनुभूति गर्छन हाम्रा दिदीबहिनीहरु ।परिवारको स्याहारकर्तामात्र होइनौँ, परिवारको संरक्षक वा पालनकर्ता पनि हुनसक्छौँ भन्ने सोच र आत्मविश्वास नहुदा पतिबाट  अपहेलित हुदा जीवन निर्वाह कसरी गर्ने भन्ने विकल्प नभेटेर वा नखोजेर नै दशकौँदेखि हिंसा खप्न बाध्य मात्र हैन यसरी नै हाम्रा दिदीबहिनीहरु आफ्ना लालाबाला सहित मृत्युवरण समेत गरिरहेका छन्।

आदरणीय दिदीबहिनीहरु, जबसम्म समाजको हर सतहमा आफू आफैँले जिम्मेवारी लिन सक्नु हुन्न , आफ्नो दोष र कमजोरीहरुको आत्मनिरीक्षण गरेर त्यसको उचित निराकरणका पाइला चाल्नु हुन्न , आफ्नो कर्तव्यमा सचेत हुनु हुन्न तब सम्म तपाईहरुको जीवन मात्र होइन नेपाली समाजलाई पनि अधोगति तिर धकेलिरहेको हुन्छ । त्यसैले सामाजिक कुरीतिले बाँधिएका महिला, दलित जति पनि छौ आत्मनिर्भर बनौ ,आफ्नो आर्थिक गतिविधि के कसरी चलाउने भन्ने कुरा आफैमा भर गरौ  । अरुले के भन्लान् भनेर टिकेको नियम तोडौ र आफैँप्रतिको कमजोर विश्वास गर्ने बानी आजै बाट सुधारौ । किनकि परिवर्तको सुरुवात व्यक्तिले आफु बाट गर्नु पर्छ  ।

प्रतिकृया दिनुहोस्