Hamro Sanchar

चितवन मेडिकल कलेजमा टेष्ट्टयुब बेबी सेन्टर स्थापना,निःसन्तान दम्पत्ति विदेश जानु नपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२४ गते

चितवन मेडिकल केलजले अस्पताल परिषरमा शुरु गरेको अत्याधुनिक प्रजनन संरक्षण सेवा प्रणालीसहितको ‘टेष्ट्टयुब बेबी सेन्टर’को उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी र निजी अस्पताल सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सरकारले मात्र स्वास्थ्य सेवाको पहुंँच पु¥याउन कठिन हुने भएकाले सेवाको भावसहित निजी क्षेत्रले काम गर्नुपर्ने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री यादवले सरकारले ल्याउन लागेको स्वास्थ्य नीतिमा सरकारी र निजीलाई सँगसँगै लैजान खोजिएको बताउनुभयो । सरकारले स्वास्थ्यमा सबै सुविधा दिनसक्छ भन्ने मानसिकता त्याग्नुपर्ने तथा सरकारीबाट उपलब्ध हुन नसकेका सुविधा दिने निजी क्षेत्रलाई प्रश्रय दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय क्यान्सर, मुटु, मिर्गौला, मधुमेहलगायत रोग बढ्दै गएकाले खाद्यान्नमा भएको बिषादी र प्रदुषण न्यूनीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । “सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्नका लागि गृहकार्य गरिरहेको छ”, उहाँले भन्नुभयो ।

अवसरमा पूर्वमन्त्री सुरेन्द्र पाण्डे, सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललगायतले निजी क्षेत्रले स्वास्थ्य सेवामा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले निःसन्तान दम्पत्तिले विदेशमा गई उपचार गर्न नपरोस् भन्ने उद्देश्यले झण्डै रु चार करोडका उपकरण झिकाएर टेष्ट्टयुब बेबी सेन्टर स्थापना गरिएको बताउनुभयो । सो सेवामा भ्रुण बैंकिङसँगै टेष्ट्टयुबमा शुक्रकीट र डिम्ब मिलन हुन नसकेमा डिम्बभित्र शुक्रकीट राख्ने अत्याधुनिक उपकरणसमेत जडान गरिएको उहाँले बताउनुभयो ।

मेडिकल कलेजका वरिष्ठ प्रसुती रोग विशेषज्ञ डा उपेन्द्र पण्डितका अनुसार अस्पतालमा दम्पत्तिको डिम्ब र शुक्रकीट एवं भ्रुणको अधिक चिस्यान प्रविधिद्वारा भविष्यमा गर्भको लागि प्रत्यारोपण गर्न सकिने प्रविधिसमेत रहेको नारायणी अनलाइनमा खबर छ । विशेषज्ञसहित यो सेवा राजधानी बाहिर चितवनमा मात्र हो ।

प्रतिकृया दिनुहोस्