Hamro Sanchar

ओलम्पिक महिला फुटबल छनोट : नेपाल भारतसँग फेरी पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/२४ गते

 ओलम्पिक महिला छनोट फुटबलमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । शनिबार भएको खेलमा भारतले नेपालमाथि ३ – १ गोल अन्तरको जित निकालेको हो ।

एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो ।

तर, घरेलु मैदानमै भएको साफ च्याम्पियनसीपमा नेपालले भारतलाई रोक्न सकेन । ओलम्पिक छनोटमा पनि भारतले नेपालमाथि आफ्नो प्रभाव कायमै राख्यो । म्यानमारमा भएको खेलमा भारतले उपहार गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरिन् ।

तर, एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन । दोस्रो हाफमा भारत हावी भयो । ६० औं मिनेटमा भारतले २-१ को अग्रता लियो भने ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३-१ को जित निकाल्यो ।

प्रतिकृया दिनुहोस्