Hamro Sanchar

भारतसँगको सम्बन्ध सुधार्न पाकिस्तानले ३ सय ६० कैदीलाई रिहा गर्ने

प्रकाशित : २०७५/१२/२४ गते

काठमाडौं । पाकिस्तानले भारतसँगको सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ ।

गएको फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) लाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराएपछि दुई देशबीचकाे सम्बन्ध चिसिएको थियो । त्यस विस्फोटमा परि ४० सुरक्षाकर्मीकाे ज्यान गएको थियो ।

भारतले पनि जवाफी कारबाहीस्वरुप १३ दिनपछि आतंकवादी संगठनको आधारमा हवाई आक्रमण गरेको बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानले एक भारतीय लडाकू विमान खसालेको थियो र पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई पाकिस्तानले रिहा गरेकाे थियो ।

‘पाकिस्तानले सजाय पूरा गरेका ३ सय ५५ माझी र ५ नागरिक गरी ३ सय ६० भारतीय कैदीबन्दीलाई रिहा गर्ने फैसला गरेको छ’, पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मोहम्मद फैसलले संवाददातालाई बताए । उनले कैदीबन्दीलाई चार समूह गरेर रिहा गर्ने बताए, जुन प्रक्रिया अप्रिल ८ बाट सुरु हुनेछ ।

यी दुई पक्षबीच खराब सम्बन्धका कारण जेलमा सजाय पूरा गरेका धेरै कैदीबन्दी पनि जेलमा नै रहेका थिए । जनवरीमा यी दुई पक्षलाई दिएको सूची नुसार, भारतीय जेलमा ३ सय ४७ पाकिस्तानी कैदी रहेका छन्, जसमा प्रवक्ताले २४९ साधारण नागरिक र ९८ माझीको रुपमा रहेकाे उल्लेख गरेका छन् ।

पाकिस्तानी जेलमा ५ सय ३७ भारतीय कैदी रहेका छन्, जसमा ४ सय ८३ माझी रहेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामीलाई आशा छ कि भारतले यसलाई फेरि लागू गर्नेछ ।’

प्रतिकृया दिनुहोस्