Hamro Sanchar

विनाशकारी हावाहुरीले बारा र पर्सामा ३२ जनाको मृत्यु, सयौँ घाइते (भिडियोसहित)

प्रकाशित : २०७५/१२/१८ गते

काठमाडौं । आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको क्षति भएको गृह मन्त्रायलका अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेका छन्।

घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। तर ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

यसअघि राति १०:३७ मा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म २५ जनाको ज्यान गएको र झन्डै चार सय जना घाइते भएको जानकारी प्राप्त भएको भन्दै शोक व्यक्त गरेका थिए।

प्रदेश नं २ को सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरवलिया र फेटा सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएको बीबीसी संवाददाता माधुरी महतोले वीरगन्जबाट बताएकी छन्।

ठूलो घटना

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने, “गम्भीर प्रकृतिका घाइतेको सङ्ख्या निकै उच्च पाइएकाले क्षतिको विवरण बढ्न सक्ने देखिन्छ।”

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले घाइतेहरूको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएका छन्।

हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको बताइएको छ। बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको छ।

वीरगन्जस्थित बीबीसी संवाददाता माधुरी महतो भन्छिन्, “झन्डै आधा घण्टा चलेको हुरीलगत्तै उद्दारका लागि थुप्रै दमकल र प्रहरीका गाडिको आवाज सुनिएको थियो। “स्थानीय अस्पतालहरूले घाइतेको सङ्ख्या निकै बढेपछि भुइँमै राखेर उपचार गरिएको बताएका छन्।”

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार अस्पतालमा बढेको चापको कारण साँझदेखि नै रक्तदानको आह्वान गरिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी भट्टराई थप्छन्, “अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएकाले त्यसो गर्नुपरेको हो। सम्पूर्ण घाइतेको नि:शुल्क उपचारको व्यवस्था गरिएको छ।”

‘सेना परिचालित’

प्रधानमन्त्री ओलीको निजी खाताबाट लेखिएको एउटा ट्वीटमा उद्धारका लागि नाइट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको उल्लेख छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार नेपाली सेना पनि उद्धारका लागि परिचालित भएको छ।

सुरक्षाकर्मीहरू अनुकूल मौसमको पर्खाइमा रहेका रिजालले जनाएका छन्।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको छ। बीबीसीबाट

प्रतिकृया दिनुहोस्