Hamro Sanchar

पेन्टागनद्वारा मेक्सिकोको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/१२ गते

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि एक अर्ब डलर निकासा गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेस (संसद)लाई छल्न आपत्कालीन अवस्थाको घोषणा गरेपछि पर्खाल निर्माणका लागि निकासा गरिएको यो पहिलो चरणको रकम हो ।

यो रकमबाट ५ मिटर अग्लो ९१ किलोमिटर लामो पर्खाल निर्माणमा खर्च गरिनेछ ।ट्रम्पले चुनावी अभियानकाक्रममै मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा संकटपूर्ण अवस्था रहेको भन्दै अपराधी प्रवेश रोक्न पर्खाल निर्माण आवश्यक रहेको बताए ।

ट्रम्पले कांग्रेस (संसद)समक्ष पर्खाल निर्माणका लागि ६ अर्ब डलर माग गर्दा अस्वीकार गरेपछि ट्रम्पले फेब्रुअरी १५ मा आपत्कालीन अवस्थाको घोषणा गरेका थिए ।आपत्कालीन अवस्था घोषणा गदै उनले प्रतिरक्षा बजेटबाट भएपनि पर्खाल बनाउने दृढता व्यक्त गरेका थिए ।

विपक्षी डेमोक्र्याटहरुले भने ट्रम्पको घोषणालाई असंवैधानिक बताउँदै आएका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस्