Hamro Sanchar

कुवेतसँग नेपालको नमिठो हार, बराबरीमा रोक्ने योजना दोस्रो खेलमा समाप्त

प्रकाशित : २०७५/१२/१२ गते

कुवेत, मार्च २४- नेपाल दोस्रो अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा घरेलु टोली कुवेतसंग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल कुवेतसंग १-० गोल अन्तरले पराजित भएको हो ।

अल शबब स्टेडियममा कुवेतलाई जित दिलाउन युसुफ नासिरले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा नासिरले पेनाल्टीमा गोल गर्दै कुवेतलाई जित दिलाए ।

यसअघि पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपाल कुवेतलाई बराबरीमा रोक्ने योजनासहित मैदान उत्रिएको थियो । तर, नेपालले दोस्रो खेलमा बलियो टोली कुवेतलाई रोक्न सकेन ।

योसंगै मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । हालै मुख्य प्रशिक्षकमा नियुक्त भएका कालिनको नेतृत्वमा नेपाल कुवेत भ्रमणमा गएको थियो ।

तर, कुवेत भ्रमणमा नेपाली टोलीका मुख्य ६ युवा खेलाडी भने थिएनन । विमल घर्ति मगर, अन्जन बिष्ट, अनन्त तामाङ, सुनिल बल लगायतका टोलीका नियमित सदस्य एएफसी यू-२३ छनोटका लागि कतारमा रहेका छन् ।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा तीन स्थान माथिको कुवेतसंग मैत्रीपुर्ण खेल खेलेको हो । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्