Hamro Sanchar

आज कुवेतसँग भिड्दै राष्ट्रिय फुटबल टीम, बाजागाजासहित उपस्थित हुन अनुरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१२/११ गते

कुवेत, मार्च २४- आज कुवेत र नेपाल बिच दोस्रो मैत्रिपूर्ण फुटबल खेल हुँदैछ । साँझ (२५ तारिख) ६:३० बजेबाट नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रिपूर्ण फुटबल खेल खेल्ने भएको हो ।

दोश्रो खेल पनि अल सबाब स्पोर्टस क्लब स्टेडियममा हुनेछ ।

गत २१ तारिखमा पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो।

मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले केहि गोल गर्ने अवसर पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् ।

नेपालले १९ बर्षपछि कुवेतसंग बराबरी खेल्न सफल भएको हो । यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपालले कुवेतसंग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ ।

बाजागाजा सहित उपस्थित हुन अनुरोध 

कुवेतमा क्रियाशिल सम्पुर्ण संघसंस्थाहरु, खेलप्रेमी नेपाली दाजुभाई, दिदिबहिनीहरुलाई खेल मैदानमा उपस्थित भई नेपाली राष्ट्रिय फुटबल टिमलाई हौसला प्रदान गरिदिनुहुन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत अनुरोध गरेको छ ।

खेल मैदानमा बाजाहरु जस्तै ड्रम, झ्याम्टा, बाजागाजा, ढोल, सनाई, सिट्टी, नेपाली झण्डा सहित उपस्थित हुन नेपाली दाजुभाइ दिदिबहिनी तथा खेलप्रेमिहरुलाइ अनुरोध गरिएको छ ।

स्थान : अल सबाब स्पोर्टस क्लब स्टेडियम, कुवेत
(अल अहमादी, ब्लक १२, स्ट्रिट १६)
मिती : २५ मार्च २०१९, सोमबार
समय : साँझको ६:३० बजेबाट

प्रतिकृया दिनुहोस्