Hamro Sanchar

पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान, भन्छन- ‘सीताको ढिपीले जान लागेको हुँ’

प्रकाशित : २०७५/१२/३ गते

काठमाडौं, चैत ३- नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन्।अध्यक्ष दाहालसँगै उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अमेरिका प्रस्थान गरेका हुन्।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको प्रोगेशिब सुप्रान्यूक्लियर पाल्से रोगको उपचार हुनेछ।

आफू बिल्कुल श्रीमतीको स्वास्थ्य उपचारका लागि मात्र अमेरिका जान लागेको दाहालले बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

अमेरिकामा यो रोगको बारेमा पछिल्लो समय नयाँ अनुसन्धान भएकोले आफूहरू निदानका लागि अमेरिका जान लागेको स्पष्ट पारे।

‘म स्वास्थ्य उपचारका लागि अमेरिका जान लागेको हुँ। यसअघि सिंगापुर पनि गयौ। त्यसले केही हदसम्म सहयोग पनि गर्‍यो। तर, अमेरिकामा बस्ने साथीहरूको सल्लाह अनुसार सीताको रोगबारे त्यहाँ सबैभन्दा पछिल्लो अनुसन्धान भइरहेको छ भन्ने आयो। त्यहाँ एउटा रिसर्च सेन्टर पनि रहेछ त्यसैले जान लागेका हौ,’ उनले भने, ‘त्यहाँ यो बिरामी सम्बन्धी अन्तिम उपचारको राम्रो व्यवस्था छ भनेपछि मेरो म्याडमले अमेरिका लगिदिए अलिक राम्रो हुन्थ्यो कि भन्ने एक महिना अघिदेखि ढिपी गरेकाले पनि मनोवैज्ञानिक रूपमा अमेरिका जानुपर्ने र उपचारको कोशिश गर्नुपर्ने भन्ने भयो।’

आफूहरूलाई अमेरिका जानका लागि परराष्ट्र मन्त्रालय, नेपालस्थित अमेरिकी राजदूत र अमेरिकास्थित नेपाली राजदूतले सहजीकरण गरेको जानकारी दिए।

उनले सीतालाई लागेको रोग पार्किन्सस रोगकै विभिन्न भेराइटीमध्ये एक यसको पछिल्लो अनुसन्धान अमेरिकामै भएकाले आफू त्यहाँ जान लागेको बताए।

उनले अमेरिकामा सम्भव भएमा दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी हुने हुने सम्भावना रहेको बताए।

प्रतिकृया दिनुहोस्