Hamro Sanchar

युएईबाट काठमाडौँको लागि उडेको विमान ठुलो दुर्घटनाबाट जोगियो

प्रकाशित : २०७५/१२/३ गते

काठमाडाैँ, चैत ३- युएईको राजधानी आबुधाबीबाट काठमाडौँको लागि उडेको ईथिहाड एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । ईथिहाडको एयरबस ३२० को उक्त विमान अर्को एक अन्तर्राष्ट्रिय विमानसंग एकदमै नजिक आएर ठोक्किनबाट जोगिएको हो ।

काठमाडौँ आउँन लागेको उक्त विमान ३१ हजार फिटको उचाईमा उडिरहेको थियो । सोहि समयमा भियतनामको हो चि मिन्हा सिटी बाट फ्रान्सको पेरिस जान लागेको एयर फ्रान्सको विमान एकदमै निकट आएको हो। यो घटना चैत्र १ गते शुक्रबारको हो । दुवै विमानमा भारतको मुम्बईको आकाशमा ठोक्किनबाट जोगिएका हुन् ।

भारतको टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा पेरिस जान लागेको विमान ३२ हजार फिटको उचाईमा उडिरहेको थियो । सोहि समयमा काठमाडौँ आउन लागेको विमान पनि मुम्बईको आकाशमा पुगेको थियो । मुम्बईको एयर ट्राफिक कन्ट्रोलरले काठमाडौँ आउँन लागेको विमानलाई पनि ३२ हजार फिटको उचाईमा जान आग्रह गर्यो । ३२ हजार फिट कै उचाईमा पेरिस जान लागेको विमान थियो । बिपरित दिशाबाट आई रहेका यी दुई जहाज एकदमै नजिक आएका हुन् । समाचारमा जनाईए अनुसार यी दुई जहाज केहि सेकेन्डको दुरीमा मात्र थिए ।

दुवै विमानमा भएको ‘ट्राफिक कोलाइजन अभोईडेन्स सिस्टम’ अर्थात् विमान जुध्न बाट रोक्न सघाउने संयन्त्र सक्रिय भएर पाइलटलाई तुरन्त विमान टाढा लैजान संदेश दिएको थियो । सोहि कारण यी दुई विमान एकआपसमा ठोक्किनबाट जोगिएर ठुलो दूर्घटना टरेको हो ।

काठमाडौँ आउँन लागेको विमानलाई ३२ हजार फिटको उचाईमा जान आग्रह गर्ने कन्ट्रोलरमाथि छानविन भईरहेको छ । यतिबेला मुम्बईको आकाशमा धेरै नै हवाइ ट्राफिक हुने गरेको छ । अत्याधिक चाप बढेकोले त्यहाँका कन्ट्रोलरलाई काम गर्न असहज भईरहेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । पाकिस्तानले आफ्नो आकाश प्रयोग गर्न रोक लगाएपछि मुम्बईको आकाशमा ट्राफिक बढेको हो ।

प्रतिकृया दिनुहोस्