Hamro Sanchar

‘विप्लव’लाई सरकारले चिन्दैन, मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री ओली

प्रकाशित : २०७५/१२/३ गते

विराटनगर । मन्त्रिपरिषद् पुनर्गठन हुने कुराले चर्चा पाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आफैँले भने तत्काल मन्त्रीमण्डल हेरफेर नहुने बताएका छन ।

आइतबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका प्रधानमन्त्री ओलीले विराटनगर विमानस्थलमा पत्रकारसँग बोल्दै मन्त्रिपरिषद् तत्काल पुनर्गठन नहुने बताएका हुन ।

गत फागुन २८ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं १ को राजधानी विराटनगरमा पत्रकारहरुसँग बोल्दै मन्त्रीमण्डल पुनर्गठन गर्नेबारे प्रधानमन्त्रीसँग आफ्नो छलफल भएको बताएका थिए ।

त्यसयता कुनकुन मन्त्रीहरु हेरफेर गर्ने भन्नेबारे नेकपाका अध्यक्षद्वय ओली-प्रचण्डबीच छलफल समेत भएकाे कुरा विभिन्न स्राेतले जनाएका थिए । तर यसबारे प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भने ‘खाली रहेको मन्त्रालयले उपर्युक्त समयमा पूर्णता पाउँछ, मन्त्रीहरु हेरफेर भने तत्काल हुँदैन ।’

पत्रकारहरुसँग बोल्ने क्रममा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अनाधिकृत झुण्ड भएको टिप्पणी समेत गरे । विधिवत रुपमा नरहेको यस्तो झुण्डलाई सरकारले राजनीतिक शक्तिका रुपमा नचिन्ने बताए ।

उनले विध्वंसात्मक गतिविधि अगाडि बढाइरहेको ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाइएको सन्दर्भ काेट्याउँदै अन्य दलका नेताहरुलाई समेत साे समूहबारे बुझेर आफ्नाे धारणा दिन आग्रह गरेका छन । कतै पनि दर्ता नभएकाे झुण्डलाई राजनीतिक पार्टी वा शक्तिकाे रुपमा स्वीकार्न नसकिने उनकाे धारणा थियाे ।

प्रतिकृया दिनुहोस्