Hamro Sanchar

कुवेतको सेल्टरमै नेपाली महिलाद्धारा झुण्डिएर आत्महत्याको प्रयास, सेल्टरमा समेत बिग्रिदै छवी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२६ गते

कुवेत, मार्च १०- कुवेत सरकारको सेल्टरमा आश्रय लिइरहेकी एक नेपाली महिलाले झुण्डिएर आत्महत्याको प्रयास गरेकी छन् ।

कुवेत स्थित नेपाली दुताबासको पहलमा कुवेत सरकारको सेल्टर(आभास गृह)मा पुर्याएकी महिलाले गत ७ तारिख साँझ झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन् । दाङ जिल्ला घर भएकी बिक थरकी (नाम गोप्य) ती महिलालाई आफु बस्ने कोठाको माथिल्लो तल्लाको सिंडीमा आफ्नै कपडाको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी महिलाले बताए । सेल्टरका प्रतिनिधिको सहयोगमा त्यहाँ रहेका महिलाले तत्काल पासो खोली उनको जिवितै उद्धार गरेका थिए ।

प्रतक्ष्यदर्शी नेपाली महिलाका अनुसार उक्त दिन उनले श्रीमानसँग फोनमा झगडा गरिरहेकी थिइन् । यद्यपी उनले आत्महत्या गर्न खोज्नुको कारण भने खुलेको छैन ।

ती महिलाको घाँटीमा चोट लागेको छ । उनको अवस्था अहिले सामान्य रहेको छ ।

घरेलु कामदारको रुपमा कुवेत आएकी उनि (स्पोन्सर)मालिकको यातना र पिडा सहना नसकी दुताबासको शरणमा पुगेकी थिइन् । दुताबासले स्वदेश फर्काउन कुवेत सरकारको सेल्टरमा पठाएको थियो ।

उनको स्वदेश फर्कन आवश्यक प्रक्रिया चल्दै छ ।

कुवेत सरकारबाट संचालित उक्त सेल्टर सुरक्षित र सुबिधा सम्पन्न छ तर यस्तो ठाँउमा गएर पनि नेपालीले नराम्रा गतिविधि गरिदिनाले नेपाली महिलाहरु प्रती हेर्ने दृष्टिकोण फरक हुन सक्ने बताइएको छ । खाने, बस्ने देखि लिएर साबुन पानी, स्वास्थ देखि अन्य सुबिधा पनि सेल्टरमै छन तर अवान्छनीय क्रियाकलाप गरेर अनावश्यक दुख दिने गरेको गुनासो सेल्टरका प्रतिनिधिले सुनाउने गरेको आधिकारिक निकायले हाम्रोसंचारलाई बतायो ।

नेपाली महिलाहरुले मोबाईलमा अनेक किसिसका भिडियो सेल्टरबाटै खिचेर भाइरल गरिदिने, फेसबुक लाइभमा आउने, फोनमा कुरा गरेर सताउने, अवान्छनीय क्रियाकलाप गर्ने, झै-झगडा गर्ने गरेको बताइएको छ ।

सेल्टरमा यस्ता कार्यहरु गैरकानुनी मानिन्छ ।

सेल्टरभित्र मोबाइल बोक्न प्रतिबन्ध लगाएपनि महिलाहरुको अनुरोधमा अबका दिनमा कुनैपनि नराम्रा गतिविधि नगर्ने बाचाका साथ फेरी मोबाइल बोक्न दिईएको त्यहाँ कार्यरत एक महिलाले हाम्रोसंचारलाई बताइन ।

सेल्टरमा अझै करिब ४० भन्दा बढी नेपाली महिलाहरु रहेका छन ।

यस्ता संबेदनशील कुराहरुमा ध्यान नपुग्दा नेपालीहरुले धेरै दुख पाउदै आइरहेका छन । सरकारले घरेलु काममा पठाउन प्रतिबन्ध लगाएपनि अवैधानिक बाटो हुँदै रोजगारीका लागि विभिन्न देशमा महिलाहरु जाने क्रम नरोकिँदा समस्याहरु बढ्दै गएका छन् । राज्यले यी र यस्ता हजारौं चेलिहरूले खेप्नुपरेको टट्कारो समस्यालाई प्रतक्ष रूपमा सम्बोधन गर्नुपर्छ नत्र घरेलु कामदारको रूपमा बिदेशिने दिदिबहिनीहरूको अवस्था थप बिकराल र दयनीय बन्ने छ ।

दुताबास कुवेतले अबैधानिक बाटो हुँदै आउने नेपालीहरुलाई उद्धार र आवश्यक सहयोग गर्न कठिनाई हुने भएकाले बिभिन्न प्रलोभनमा परेर अबैधानिक बाटो हुँदै कुवेत लगायत खाडी मुलुकमा नआउन अनुरोध गरेको ।

तस्वीर-सांकेतिक

प्रतिकृया दिनुहोस्