Hamro Sanchar

शिवरात्रीकै दिन दलितलाई पूजा गर्न रोक, माताले मन्दिरमा लगाईन् ताला

प्रकाशित : २०७५/११/२० गते

धनगढी, फागुन २०- शिवरात्रिको उल्लास चढेकै बेला धनगढीको एक शिवालयमा दलित समुदायलाई पूजा गर्नबाट रोक लगाइएको छ। धनगढी उपमहानगरपालिका–५ जाईस्थित भैरव मन्दिरमा स्थानीय दलित समुदायलाई पूजा गर्नबाट रोक लगाइएको हो। मन्दिरमा बस्ने माताको नामले चिनिने महिला पूजारीले अनुहार हेरैरै दलित युवतीलाई पूजा गर्नबाट रोक लगाउनुका साथै उनले लगेको पूजा सामग्रीसमेत फालेको स्थानीयहरूले बताएका लोकान्तरमा खबर छ।

स्थानीय आंसु ताम्राकारले सोमवार बिहान ९ बजे मन्दिरमा पूजा गर्न पुगेकी थिइन्। दुध, फूल, अगरबत्तीलगायत पूजा सामग्री लिएर पूजा गर्न पुगेकी ताम्राकारले मन्दिरकी मातालाई पूजाको लागि ताला खोल्न आग्रह गरिन्। तर माताले तिमीहरू दलित बाहिरबाटै पूजा गर्नुपर्छ। मेरो मन्दिर हो। तिमीहरूको होइन भन्दै पूजा सामग्री नै हातबाट हुत्याई दिएको पीडित युवतीले दुखेसो सुनाइन्।

उनले भनिन् म भन्दा पहिले मेरी आमालगायतले पूजा गर्न जानुभयो। आमालाई दलित हो भनेर चिन्न नसकेपछि उहाँहरू पूजा गरेर फर्किनु भयो। पछि म आएँ। मलाई देख्ने वित्तिकै मन्दिरमा ताला लगाई दिनुभयो। मन्दिरको ताला खोल्न अनुरोध गर्दा तिमीहरूको मन्दिर होइन भनेर पूजाको थालीबाट दुध हुत्याई दिनुभयो। मेरी आमाले पूजा गर्न पाउनु, मैले किन नपाउनु भनेर प्रश्न गर्दा उल्टै आक्रोशमा आएर अनिष्ट हुने भन्दै कराइन्। स्थानीय दलित समुदायका मान्छेहरू पूजा गर्न आउँछन् भन्दै हाल सो मन्दिरमा ताला लगाइएको छ।

सो मन्दिरमा दलित समुदायलाई पूजा गर्नबाट पहिलैदेखि रोक लगाइँदै आएको छ। स्थानीय कौशिला ताम्राकारले भनिन्, गत वर्ष मपनि मन्दिरमा पूजा गर्न आएकी थिएँ। तर पूजा गर्न दिइएन। हामीहरू दलित बाहेकको निजी मन्दिर भन्दै दलितलाई रोक लगाइँदै आएको उनी बताउँछिन्।

पूजा गर्नबाट रोक लगाउने मन्दिरकी पूजारी पक्राउ

दलित समुदायलाई पूजा गर्नबाट रोक लगाउने मन्दिरकी पूजारी (माता) अन्दाजी ४० वर्षीया गंगा गिरी पक्राउ परेकी छन् ।

मन्दिरमा पूजा गर्न गएका दलित समुदायलाई पूजा गर्नबाट रोक लगाउने मन्दिरकी पूजारी (माता) अन्दाजी ४० वर्षीया गंगा गिरी पक्राउ परेकी हुन् ।

डोटी जिल्लाको सिलगढी घर बताउने पूजारी गिरी पक्राउ परेकी हुन् ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक वकिल सिंहको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षकले सिंहले उनलाई पक्राउ गरिसकेको बताउँदै घटनाबारे थप अनुसन्धानसमेत शुरू गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्