Hamro Sanchar

कस्तो हुन्छ दमाई कामीको व्यहोरा ?

कुसंस्कार हिजोआज कमजोर मानसिकताका मानिसहरूको विभेद गर्ने खेती भएको छ । त्यसैले यस्ता विभेदको बिरुद्द आफु उभिन् सक्छु भनेर नतातिए सम्म,  भूमिका स्थापित नगर्दासम्म , दलित भनेको उ  जस्तै मानिस हो भनेर उसको मस्तिस्कमा जमेको भ्रमलाई नअर्थ्याए सम्म दलितहरुलाई  उखान टुक्काका पात्र बनाउदै हेयको दृस्टी बोल्ने  र दिनरात प्रताडित गर्ने संस्कार जीवन्त रहिरहन्छ।

गोपाल शिवा प्रकाशित : २०७५/११/१७ गते

लेखक : गोपाल शिवा

काठमान्डौको वरिपरी क्षेत्रमा देखिने डाडाहरु आज सेताम्मे फुलेका थिए।पेप्सीकोला चोकमा लवाई खवाई हेर्दा भद्र भलाद्मी देखिने व्यक्तिहरु बिहानै चिया पसलमा चियाको चुस्की लाउदै एकअर्कामा हिऊ हेर्न चन्द्रागिरी जाने भनेर गफिँदै रहेछन।ज्यालामा नमिलेको दमाई कामीको जस्तो व्यहोरा नगर्न हिड क्या जाम एक जनाले अर्को जना लाई भाषामा नेपाली समाजमा समाजका कथित दलितहरुलाई प्रयोग गर्दै बोले ।

जीवनका केही कुरा यस्ता हुन्छन्/हुँदा रहेछन्, जुन आफैँमा गौण र मामुली भए पनि मुटु वारपार गर्ने सामर्थ्य राखेका हुन्छन् ।हेर्दा सानो कुरो छ, तर उत्पीडित समुदायका मनोविज्ञानलाई प्रत्यक्ष होस् या अप्रत्यक्ष रूपमा कति धेरै नकारात्मक असर पार्छ भन्नेबारे समाजले ध्यान नै दिएको छैन । मलाई पनि त्यस्तै भो …उनको कुराले मलाइ चियाको तातोपनले भन्दा बढी नमिठो  अनुभुतीले छाती पोलिरहयो। किनकि उनि संगै बसेर उतिनै दाम तिरेर उनैका साथीहरुको झुण्ड संगै चिया पिउने उनको उखान टुक्कामा उनिएको एउटा स्वरूप म पनि थिए र बिना कुनै कारण मेरो समुदाय उनको खिसीको उनाइमा परेकोले मैले उनको मस्तिस्कमा जमेको भ्रमलाई अर्थ्याउनु थियो । चिया पसलको दुवै वल्लो किनार र पल्लो किनार अरु चिया पिउनेहरू उनीहरुको कुरा टुलुटुलु सुनेर बसेका थिए । भलै उनीहरुको लागि अहम्ता देखाउन खोजेको भयो होला तर म नेता बन्न चाहेको थिइन , ति भाइ जस्तै मान्छे हु भनेर बुझाउन सोधे भाई , कस्तो हुन्छ दमाई कामीको व्यहोरा ?  मेरो प्रश्नको जवाफ उखान टुकामा सुनेको दाइँ भनेर मात्र आयो।उनको अनभिज्ञता प्रति टीठ लागेर आयो मलाई । फेरी पनि भने आधुनिक जमानाको मान्छे भएर यसरी मिथ्या, निराधार, कपोलकल्पित र मनगढन्ते आरोप लगाएर जात लाई लक्षित् गर्ने भाई…तिमीले बाँचेको समाजमा तिमीजस्तै अरु जात ,समुदायका मान्छे छन् भनेर सोच्नु पर्दैन ? भाईको बोलक्कडको दयनीयता देख्दा मलाई नै शरम लाग्यो । म भित्रको उकुसमुकुसलाई भाइले जवाफ दिन् नै सकेनन ….. गल्ती मनन गर्दै सिक्ने तत्परता देखाऊलान भनेको तर सरि है दाई भन्दै चिया पसलबाट भाईहरु बाहिरिए ।

भाइ गए पनि नेपाली समाजको पछिल्लो पुस्ता सम्म बिधमान एउटा कु-संस्कार जीवन्त रहेको उजागर चिया पसलमा गरेर गएका थिए ।  त्यो कु-संस्कार, जो नेपाली समाजमा बोल्ने उखान तुक्काहरु जो कत्तिपयले प्रायः दलित समुदायको हुर्मत लिएका छन् । दलितको काम, पेशा र जीवनशैलीमाथि निरन्तर प्रहार गर्ने, उनीहरुलाई मानसिक रुपमा सँधै होच्याइरहने दासपूर्ण अभ्यास गरेका छन् । आखिरी किन  नेपाली समाजका  ठूलाबडा, सरकारी हाकिम, शिक्षित र बुद्धिजीवी भनिएकाहरु बाट पनि कामको सिलसिलामा होस् या त चिया गफमा प्रसङ्ग मिलाउँदै समाजका कथित दलितहरुलाई उखान टुक्काका पात्र बनाउदै हेयको दृस्टीले बोल्छन् ? बोलीचालीको भाषामा उनले प्रयोग गरेको शब्द र वाक्य सुने देखि म भित्र प्रश्नले चिमोटी रहयो । आखिरी म के-के कारणले खत्तम छु ? दमाई कामी भएकै ले के-के अवगुण छन् म भित्र ? किन यसरी नेपाली समाजका हरेक कुरामा नराम्रो कुराको उदाहरण दिनु पर्दा औला तेर्साएर देखाइन्छ ? किन बारम्बार नेपाली समाजमा समाजका कथित दलितहरु पीडित हुनु परेको छ ?मानव जातिको विकाससँगै स्थापित भएका हाम्रा सामाजिक कु-मान्यता र जन्मका आधारमा व्यक्तिलाई विभाजन गर्ने धर्मग्रन्थभित्रका अवैज्ञानिक, अतार्किक र अव्यावहारिक नियम कानुनहरू लाई एकअर्कासँग तुलना गरेर आर्थिक ,सामाजिक, राजनीतिक रुपमा पिल्सिएका प्रताडित भएका दलित समुदायलाइ कमजोर छन् भनेर गरिएका व्याख्याहरू के जायज छन् त ?

हिन्दु धर्मअनुसार चल्दै आएको नेपालको शासन पद्धतिले  विसं. १९१० मा मुलुकी ऐन बनाएर पानी अचल छिटो हाल्नु पर्ने समुदाय बनाएर अहिलेका कथित दलित समुदायलाई राज्यमा सम्पत्ति कमाउन रोक लगाएर उनीहरुको श्रम बलीघरे बनाए ।  राज्यको निकायमा सेवा, रोजगारमा प्रतिनिधित्व गर्न निषेध गर्यो । पढ्न नपाउने व्यवस्था गर्यो र शिक्षाको माध्यमबाट प्राप्त हुने अवसरबाट बन्चित गर्यो । यति मात्र होइन , एकै किसिमको अपराधमा जात अनुसार घटीबढी दण्ड सजायको व्यवस्था गरियो ।  नेपाली समाजमा बर्षौ देखि राज्य बाट, समाज बाट  बर्षौ देखि छुवाछुत र जातीय विभेद भोग्दै आएका जातिहरु जो सवै कुरा बाट बन्चित हुदै आए ।

हाम्रो मनोविज्ञानलाई कानुनले भन्दा बढी धर्मले डोर्‌याएको छ । मान्छेको मनोविज्ञानबाट सामाजिक चिन्तन स्थापित हुन्छ ।मनुस्मृतिले वर्णहरुका गुणलाई अनुशरण गर्दै सेवा गर्ने भनेर एउटा मात्रै कर्म निश्चित गरिदिएका कथित दलितहरुले हतियार बनाए, जुत्ता  बनाए, कपडा सिलाए समाजमा लाज छोप्नेकाम गरे । त्यति मात्र हैन नेपालका हरेक परिवर्तनकारी आन्दोलनमा अग्रपंतिमा रहेर एव नेपाल एकीकरणका लागि आवश्यक खर्च कसरी जुटाउने भनेर सल्लाह , सुझाब र योगदान दिए,सेवा गरे । तर कथित दलितहरुको गुणलाई मात्र नभई कामलाई पनि हेयको भावले हेर्ने यो बर्णाश्रम समाजले श्रमजीवि कथित दलित समुदायलाई कहिल्यै सम्मान गर्न जानेन । बरु दिनरात धारा कुवा पधेरो होश या चिया चौतारोमा होश, लाखौं दलितहरुलाई उखान तुक्काको नाममा चर्को मानसिक पिडा दिएर नीच र तुच्छ बनाउदै आईरहेको छ ।

परम्परागत नेपाली समाजको मानसिकता अहिले पनि मध्ययुगीन जातीय भेदभावले ग्रस्त भएको देख्दा समाज विकासको क्रममा विभिन्न किसिमका अन्धपरम्पराले मानिसलाई विभेद मुक्त बनाउन सकेको देखिँदैन । धर्म र कानुनले निर्माण गरेको चालचलन, परम्परा, रीतिरिवाज र सामाजिक चिन्तनले नेपाली समाजमा कथित दलित जन्मेको दिनदेखि नै सुसंस्कृत हुने क्रममा आफूलाई गर्वसाथ हेर्ने आँखा नै झिकिदिएको हुन्छ । गर्वसाथ बोल्ने जिब्रो बटारिदिएको हुन्छ । निचोडमा भन्नु पर्दा मनोविज्ञानको यही चक्रब्यूहभित्र कहिले नपुरिने गरि विभेदको ठुलो खाल्डो खनेर नेपाली समाज अहिले पनि अर्थात  लोकतान्त्रिक ब्यबस्था मुलुकमा हुदा पनि फनफनी घुमिरहेको छ ।आखिरी दलित -गैर दलित नेपाली समाजमा एकअर्काका समपूरक हौं /हुन् भनेर कहिले स्वीकार्ने ?

सामन्ती राज्यसत्ताबाट बर्षौ उत्पीडनमा परिएका र वर्तमान समाजमा मानवको रुपमा दर्ज हुन बाँकी रहेका शदीयौंदेखि स्थापित मान्यताअनुसार बाँच्न, बोल्न, सोच्न नसक्लान तर अब नेपाली समाजमा समाजका कथित दलितहरुलाई आफूले आफूलाई चिन्नु र चिनाउनु पर्छ । किनकी यस्तो कुसंस्कार हिजोआज कमजोर मानसिकताका मानिसहरूको विभेद गर्ने खेती भएको छ । त्यसैले यस्ता विभेदको बिरुद्द आफु उभिन् सक्छु भनेर नतातिए सम्म,  भूमिका स्थापित नगर्दासम्म , दलित भनेको उ  जस्तै मानिस हो भनेर उसको मस्तिस्कमा जमेको भ्रमलाई नअर्थ्याए सम्म दलितहरुलाई  उखान टुक्काका पात्र बनाउदै हेयको दृस्टी बोल्ने  र दिनरात प्रताडित गर्ने संस्कार जीवन्त रहिरहन्छ।

प्रतिकृया दिनुहोस्