Hamro Sanchar

जातीय भेदभाव गरी कुटपिट गरेको घटनाका आरोपितलाई कारबाहीको माग

कालीबहादुर मल्ल प्रकाशित : २०७५/११/२ गते

नरहरीनाथ गाउँपालिका–१ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपिट गरेको घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै माघ २८ गते जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन–पत्र बुझाइएको छ ।
पीडितलाई सोही ठाउँका चन विष्ट र नरेन्द्र विष्टले पुस १७ गते गणेशपुरस्थित बाटोमा भेट हुँदा एक्कासी ‘डुम कमरा ठुलो पल्टेको तँ मेरा घरमा काम गर्न किन आएनस’ भन्दै जातीय विभेदका शब्द प्रयोग गरी कुटपिट गर्दा घाइते भएको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित पक्षले आरोपितविरूद्ध पुस २० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको भएपनि साधारण तारिखमा रिहा गर्नुका साथै प्रहरी प्रशासन, अदालतले उजुरीलाई गम्भीर ढङ्गले नलिएको भन्दै ज्ञापन–पत्रमार्फत प्रशासनको ध्यानाकर्षण गराइएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका जिल्ला संयोजक विर तिरुवाले वताए ।

इन्सेकका जिल्ला प्रतिनिधि कालिबहादुर मल्ल, तिरूवालगायतका अधिकारकर्मीको पहलमा बुझाइएको ज्ञापनपत्रमा जातीय विभेदका घटनामा प्रहरी प्रशासनले गम्भीर भएर कारबाहीको माग गरिएको छ ।

जातीय विभेदका घटनामा प्रहरी प्रशासन र अदालतले समेत गम्भीर चासो नलिएकाले घटनामा संलग्न व्यक्तिलाई कडा कारबाहीको लागि दबाब दिन जिल्लाका अधिकारकर्मी, दलित जनप्रतिनिधिको हस्तक्षरमा ध्यानाकर्षण पत्र पेश गरिएको जनाइएको छ ।

स्थानीय सरकार प्रतिनिधि बिर्ख सिहं बिक, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङघका जयबहादुर बिक, दलित गैसस महासङ्घका परेक नेपाली, इन्सेकका कालीबहादुर मल्ललगायतको हस्ताक्षर रहेको ज्ञापन–पत्रमा आरोपितलाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८), अपराध संहिता ऐन २०७४ का साथै नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्