Hamro Sanchar

अब खल्तीमा पैसा नहुने नेपाली हुँदैनन्, नभए सरकारले दिन्छ : प्रधानमन्त्री ओली

प्रकाशित : २०७५/११/२ गते

काठमाडौं, फागुन २- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नारा तय गरिएको छ।

कार्यक्रम अहिले बिहान १० बजेबाट सुरु भएको मन्त्रालयले जनाएको छ। जलविद्युत् आयोजना छरिएर रहेको पुँजी एकीकृत गरी जलविद्युत् क्षेत्रमा राष्ट्रिय पुँजी निर्माण गरिने सरकारले यस कार्यक्रममार्फत उद्देश्य लिएको छ। स्वदेशी लगानीमा नेपालभित्रै ३ हजार मेगावाटभन्दा बढी जलविद्युत् आयोजना निर्माण गर्ने सरकारी लक्ष्य राखिएको छ।

जसअन्तर्गत सरकारले १९ वटा आयोजना छनोट गरिसकेको बताएको छ। जसमा ६ अर्बभन्दा बढी लगानी रहने छ। कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री ओलीले भने, ‘यो गतिशील ठाउँमा पैसा लगानी गर्ने बेला हो, यो अर्को ऐतिहासिक कार्य हो।’ प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि नेपाल हरेक दिन एक कदम अघि रहेको समेत दाबी गरे।

उनले अब खल्तीमा पैसा नभएको कोही पनि नहुने दाबी गरे। ‘देशमा हामी रोजगारका अवसरहरू सृजना गर्छौँ। बेरोजगारलाई जीवन निर्वाह भत्ता पनि दिन्छौँ’, उनले भने, ‘खल्तीमा पैसा नहुने नेपाली हुँदैनन्। पैसा हुँदै भएन भने पनि सरकारले दिन्छ।’

प्रतिकृया दिनुहोस्