Hamro Sanchar

विमानस्थलमै कुटपिट गरेर ट्याक्सी चालकले लुटे एक लाख

प्रकाशित : २०७५/११/२ गते

काठमाडौँ, फागुन २- एकजना ट्याक्सी चालकले त्रिभुवन विमानस्थलको मूख्य गेट (गोल्डेन गेट) अगाडिबाट यात्रुमाथि लुटपाट गरेका छन् ।

त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकैबाट ती ट्याक्सी चालकले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-९ का ५६ वर्षीय रामराजा कार्कीबाट लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार गोल्डेन गेट नजिकै सडकमा बा.१ ज ९०७१ नम्बरको ट्याक्सीका नाम थर नखुलेका चालकले कार्कीबाट बुधबार दिउँसो एक लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

त्यही ट्याक्सीले ठक्कर दिएर बायाँ खुट्टामा चोट लागेपछि सडकमा लडेका कार्कीको साथमा रहेको नगद ती ट्याक्सी चालकले लुटेर फरार भएका हुन् ।

ट्याक्सीले ठक्कर दिएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादका क्रममा चालकले कार्कीलाई कुटपिटसमेत गरी नगद एक लाख रुपैयाँ लिएर फरार भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले फरार ट्याक्सी चालकको खोजी गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्