Hamro Sanchar

‘क्रिकेट रंगशाला’ का लागि मलेसियाबाट धुर्मुस–सुन्तलीले जुटाए ३५ लाख

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२९ गते

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग जुटाउन मलेसिया गएका कलाकार एवं अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले ३५ लाख ७१ हजार रुपैयाँ संकलन गरेका छन् । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट उक्त आर्थिक सहयोग संकलन भएको हो ।

मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्योभन्दा बढी स्वःस्फुर्त तिनवटै कार्यक्रममा चितवनको भरतपुरमा निर्माण गर्न लागिएको रंगशाला निर्माण अभियानलाई आफूले सकेको सहयोग पनि खुलेर गर्नुभयो ।’

कार्यक्रम स्थलबाट २० लाख ७१ हजार रुपैयाँ र आयोजक सिटी एक्सप्रेसको तर्फबाट १५ लाख रुपैयाँ प्राप्त भएको उनले जनाएका छन् । साथै यो अभियानलाई सहयोग गर्न फेरि मलेसिया भ्रमणका लागि नेपाली दाजुभाई दिदीबहिनीले निम्तो गरेको उनले जनाएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले ३ अर्ब लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । यो रकम जनसहयोगबाट संकलन गर्ने फाउन्डेसनको लक्ष्य छ ।

प्रतिकृया दिनुहोस्