Hamro Sanchar

“छोरी माइत जाँदा जति खुसी हुन्छिन्, सिरहा आउँदा म त्यस्तै हुन्छु”- प्रचण्ड

प्रकाशित : २०७५/१०/२९ गते

सिरहा, माघ २८– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहा आउँदा आफूलाई माइती गाउँ आएजस्तै खुशी लाग्ने बताएका छन ।

अध्यक्ष प्रचण्डले सोमबार एक स्वास्थ्य चौकीको उद्घाटन गर्दै भने-‘एउटी चेलीलाई माइती जाँदा जति खुशी लाग्छ त्यो भन्दा बढी खुशी मलाई सिरहा आउँदा लाग्छ ।’

सिरहाको अर्नमा गाउँपालिका–१, महनौरमा रहेको तीन तले स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै प्रचण्डले दोस्रो संविधानसभाको चुनावमा सिरहाका नागरिकले मतदान गरेर आफूलाई विजयी बनाएको स्मरण गर्दै सिरहालाई माइती गाउँको संज्ञा दिएका हुन् ।

यस्तै सिरहाकै मिर्चैयामा आयोजित ‘मिर्चैया प्रथम महोत्सव’ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मधेशी समुदायको माग संविधानमा समेट्ने गरी छिट्टै संविधान संशोधन गरिने बताए ।

अहिले पनि मधेशी नागरिकले राज्यबाट आफूहरु विभेदमा परेको महसुस गरेको जानकारी आफूलाई राम्रोसँग अवगत रहेको भन्दै उनले मधेशी समुदायको भावना, उद्देश्य र विचारलाई समेट्न संविधान संशोधन गर्न पहल थाल्ने बताए ।

प्रतिकृया दिनुहोस्