Hamro Sanchar

प्रधानमन्त्री रोजगार कार्यक्रम : वार्षिक २ लाख ३६ हजार रोजगारी, बेरोजगार र निर्वाह भत्ता पाइने

प्रकाशित : २०७५/१०/२८ गते

काठमाडौँ, माघ २८- सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तर्गत सार्वजनिक निर्माणको पुँजीगत खर्च बढाएर थप दुई लाख ३६ हजार वार्षिक रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले सार्वजनिक निर्माणको खर्चलाई बढाएर रोजगारी सिर्जना गर्न लागेको हो ।

रोजगारी संख्या निजीबाहेक सरकारी बजेटबाट सिर्जना हुने जनाइएको छ । हाल सरकारले पुँजीगत खर्चअन्तर्गत सार्वजनिक निर्माणका लागि दुई खर्ब २५ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हाल खर्च भइरहेको ३३ अर्ब ८३ करोड रुपैयाँले वार्षिक औषत ६ लाख २१ हजारलाई न्युनतम रोजगारी राजगारी पाइनेछ ।

सार्वजनिक परियोजनाको सम्पूर्ण खर्चमध्ये ज्यालामा मात्र खर्च भइरहेको १५ प्रतिशत बजेटलाई बढाएर अनिवार्य खर्च गर्ने व्यवस्था गर्न नीतिगत व्यवस्था गरिने भएको छ ।

बेरोजगार र निर्वाह भत्ता पाइने

सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार र निर्वाह भत्ता पाइने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमबारे जानकारी गराएका छन्।

उनका अनुसार बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यावसायिक तथा सीप विकास तालिम दिइनेछ। बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा उपलब्ध गराइने र सो रकम बैंक खातामा भुक्तानी गरिनेछ।

त्यस्तै, निर्वाह भत्ताको हकमा भने परिवारका कुनै पनि सदस्यदे न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तभरण वा अवकाश सम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिने उल्लेख छ।

प्रतिकृया दिनुहोस्