Hamro Sanchar

यूएईमा मन्त्री पण्डितलाई प्रश्न : साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?

मन्त्री हुञ्जेल सरकारी गाडी प्रयोग गर्छु, जिम्मेवारीबाट हटेपछि पहिलेजस्तै साइकल तथा सार्वजनिक यातायातका साधन चड्छु

प्रकाशित : २०७५/१०/२७ गते

उमाकान्त पाण्डे

यूएई, माघ २७– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कतिपय सञ्चार माध्यमले आफू र सरकारलाई खुइल्याउन समाचार लेख्ने गरेको आरोप लगाएका छन् ।

शुक्रबार यूएई आएका मन्त्री पण्डितले विषय नै नपाएका कतिपय सञ्चारमाध्यमले मन्त्रालयको पुरै खर्च जोडेर मन्त्रीले गरेको भन्दै सरकार र मन्त्रीलाई खुइल्याउन खोजेको आरोप लगाए ।

शनिबार नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी भएका मन्त्री पण्डितलाई यहाँ कार्यरत नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’ त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको बताए ।

मन्त्री पण्डितले मन्त्री हुञ्जेल सरकारले दिएको सुविधाअनुसार गाडी प्रयोग गर्ने बताए । पदीय जिम्मेवारीबाट हटेपछि पहिलेजस्तै साइकल तथा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने बताए ।

आफूविरुद्ध जस्ता विषय आए पनि देश प्रतिको दायित्व बहन गर्न आफू विचलित नहुने मन्त्री पण्डितले बताए । मागेर मात्रै देश समृद्ध नहुने र भागेर समस्या समाधान नहुने भन्दै विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न उनले आग्रह गरे ।

मन्त्री पण्डित दुबईमा आइतबारबाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति युएई आएका हुन् । उज्यालोमा खबर छ ।

प्रतिकृया दिनुहोस्