Hamro Sanchar

अब सबै बिजुलीका तार अन्डरग्राउण्ड बिच्छाउने छौं : कुलमान घिसिङ

अस्तिमात्रै पाटनको च्यासलतिरको गल्लीमा गएको थिएँ, त्यहाँका घरका झ्यालबाट कसैले असवाधानीपूर्वक हात निकाल्यो भने नांगो तारमै छुने अवस्था रहेछ ।

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/१३ गते

जनकपुरमा मोटरसाइकलमा पोलमा ठोक्किँदा तार खसेर दुई जनाले ज्यान गुमाएको एक हप्ता नबित्दै शुक्रबार धनुषा जिल्लाकै सबैलामा जन्ती लिएर आएको बसमा करेन्ट लागेर ६ जनाले ज्यान गुमाए ।

बिजुलीका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै सर्वसाधारणले विद्युतीय जोखिम व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाउन थालेका छन् ।

यस्ता घटनालाई गम्भीररुपमा लिएर व्यवस्थापकीय र जनचेतनामुलक कामहरु गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

गाउँ–शहरमा विद्युतीय वितरण लाइन धरापजस्तै बने । धनुषाको घटनाले विद्युतीय दुर्घटनाका विषयलाई गम्भीर ढंगले लिनुपर्ने देखिएन र ?

हो, हामी यस विषयमा पहिल्यैदेखि सचेत छौं । शुक्रबारको घटनालाई हामीले मसिनो गरेर हेर्‍यौं । कोही मान्छे विजुलीको झड्का लागेर मर्नुपर्ने र अंगभंग तथा घाइते हुनुपर्ने विषय ज्यादै दुःखद हो । शुक्रबार धनुषामा भएको घटनाले म लगायत मेरो टिम नै मर्माहत छ ।

शुक्रबार त्यो गाडीमाथि दाइजोमा आएको ट्यांका राखेर ल्याइएको रहेछ । त्यसभन्दा अघि गएका गाडी विनाअवरोध कटे पनि अर्कोमा दुःखद घटना भयो । सडकमा तारको क्लियरेन्स कम भएकाले छतमा रहेका यात्रु हतार–हतार पछाडिको भर्‍याङबाट ओर्लन खोजेछन् । त्यसकारण पनि ठूलो मानवीय क्षति भयो ।

बसभित्र ५०÷६० जना रहेछन्, छतमा बसेकाहरुले नै ज्यान गुमाउनुपरेको देखियो । यो घटनाले हामीलाई अझै बढी सचेत गराएको छ । कसैले पनि यसरी मृत्युको मुखमा पुग्न नपरोस् भनेर हामीलाई झक्झक्काएको छ ।

तर, यो घटनामा प्राधिकरणको भन्दा बढी लापरवाही अरुबाटै भएको छ । तर, जे होस् घटनाप्रति दुःख छ । हामी यस्तो दिन नदोहोरियोस् भनेरै काम गर्छौं ।

पछिल्लो समयमा यस्ता घटनाहरु बढ्दै गएका छन्, यसलाई सर्वसाधारणले त प्राधिकरणको लापरवाहीका रुपमा ब्याख्या गर्न थालिसके नि ?

विद्युतीय सुरक्षाको विषय पछिल्लो समयमा निकै गम्भीररुपमा उठेको छ । हिजो लोडसेडिङमा हु्ँदा अधिकांश समयमा लाइन नै आउँदैन थियो, त्यसका कारण दुर्घटना कम भएको जस्तो थियो । धेरै समय लाइन नै नआउने भएपछि सुरक्षाका विषय ओझेलमा पनि थिए ।

अब त्यो अवस्था छैन, २४ घण्टा नै लाइन आउँदैछ, हरेक पलमा जोखिम छ । त्यसैले हामीले पनि यो विषयलाई निकै गम्भीरतापूर्वक लिएका छौं । काम पनि थालेका छौं । घटना हुँदा जसको दोष भए पनि बिजुली लागेर कोही पनि मर्नु नपरोस् भन्नेमै हामी केन्द्रित छौं ।

अहिले सर्वसाधारण मात्रै हैन, प्राधिकरणका कर्मचारी र निजी क्षेत्रमा कार्यरत इलेक्ट्रिसियन पनि यस्ता दुखद् घटनाको शिकार बनिरहेका छन् । यो हुनु हुँदैन । हामीले गरेको अहिलेको प्रयासले पर्याप्त छैन, हामी थप काम गर्दैछौं । परिणाम विस्तारै आउँछ ।

सडकहरुमा तार खसेर, लत्रिएर बढी दुर्घटना भइरहेका छन्, यसमा अलि बढी सचेत हुुनुपर्ने हैन ?

यस्तो हुनुहुँदैन, हामीले अब सडकमाथिबाट तार क्रस हुने स्थानहरुमा पनि कभर कन्डक्टरलाई हाल्ने योजना बनाएका छौं । मुख्य रोडहरुमा हामी विशेष निगरानी गर्छौं, र आवश्यक कदम उठाउँछौं, यो जरुरी नै देखिएको छ ।

शहरी क्षेत्रमा त झन नांगो तारको जोखिम उच्च हुन्छ । कसैगरी दुर्घटना भयो भने त्यो सानो क्षति हुँदैन । त्यसलाई मनन गरेर नै हामीले काम गरेका छौं । तराईका सडकहरुमा यो जोखिम अझ बढी छ ।

 

सडकका तारहरुको ‘क्लियरेन्स’ बढाउनुपर्ने छ । गाडीले नछुने मात्रै हैन, केही समान राखेर ल्याउँदा नछुने होस् । जोखिम हुने ठाउँमा कभर कन्डक्टर नै उपयुक्त हुन्छ । अब क्रमैसँग नांगो तारलाई जोखिमयुक्त ठाउँबाट हटाउनैपर्छ ।

हामीले एडीबी र विश्व बैंकको सहयोगमा गरिरहेका ग्रामीण विद्युतीकरणको काममा पनि नांगो तार प्रयोग गरेका छैनौं, सबै ठाउँमा कभर कन्डक्टर नै राखेका छौं ।

अहिले हामीले सबस्टेशनहरु थप्ने कामलाई पनि प्राथमिकता राखेका छौं । यसले पनि दुर्घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्छ । छोटो दूरीमा सब–स्टेशन छ भने दुर्घटनाको समयमा बिजुली छिटो काटिन्छ । यो काम पनि लाइनलाई विश्वसनीय बनाउन र दुर्घटना कम गराउनकै लागि हो । यसलाई ब्यापकता दिन अत्यावश्यक छ ।

अहिलेसम्म त प्राधिकरणले गरेका प्रयास फिल्डमा जनताले महसुस गर्न पाएका छैनन्, विद्युतीय सुरक्षाको कुरा प्राधिकरणको मात्रै जिम्मेवारी हो कि अरुले पनि यसमा भूमिका खेल्नुपर्छ ?

यसमा धेरै पक्ष छन् । हामीले बिजुलीको नांगो तार छुँदा हुने जोखिमबारे पनि पर्याप्त बुझाउन सकेका छैनौं । कतिपय क्षेत्रमा बिजुली चोरी गर्न हुकिङ गर्दा पनि धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । यस्ता घटना त कति बाहिरै आउँदैनन् ।

घर तथा अफिसमा बिजुलीको काम गर्नेहरुले पनि आफ्नो सुरक्षामा ध्यान दिने गरेका छैनन् । हेल्मेट लगाउने, ग्लोभ्स लगाएर काम गर्ने त नेपालमा कसैको बानी नै छैन । यसले पनि विद्युतीय दुर्घटनाको जोखिम बढाएको हो ।

प्राधिकरणले विद्युतीय दुर्घटनामा ज्यान गुमाएकाका परिवार र घाइते भएकाहरुको उपचारमा वर्षमा ८–१० करोड खर्चनुपर्छ । हामीले पूर्वाधारलाई सुधार गर्‍यौं र जनचेतना बढायौं भने यसमा निकै कमी आउने थियो ।

विद्युतीय दुर्घटनाको जोखिम अहिले प्राधिकरणकै कार्यस्थलमा पनि उत्तिकै छ । हाम्रा धेरै कर्मचारीले पनि दुःखद घटना बेहोर्नु परिरहेको छ । यो सबै कुरा देख्दा देख्दै प्राधिकरण टुलुटुलु हेरेर मात्रै बस्न सक्दैन । तर, यसमा हामीलाई सर्वसाधारणको पनि सहयोग चाहिएको छ ।

विजुलीलाई सुरक्षित रुपमा वितरण गर्ने काम त प्राधिकरणकै हुन्छ, यसमा सर्वसाधारणसँग तपाईंहरुको अपेक्षा के हो ?

हामीले व्यवस्थापकीय भूमिका खेल्छौं, यसमा कुनै शंका गर्नु पर्दैन । तर, विद्युतीय असुरक्षा भएका स्थानहरुबारे सबैभन्दा छिटो र धेरै सूचना स्थानीय क्षेत्रका बासिन्दालाई नै हुन्छ ।

कहाँ तार लत्रिएको छ, कहाँ पोल भाँचिन लागेको छ, कता पोल थप्नुपर्नेछ, कहाँ जोखिम भएको छ, लगायतका सबै कुरा स्थानीय क्षेत्रमा पहिले थाहा हुन्छ । यस्तो जानकारी प्राधिकरणको सम्बन्धित शाखामा तुरुन्तै गराउनुपर्छ ।

यस्तै विद्युतका विषयमा कसैले लापरवाही गर्नुभएन । यो निकै संवेदनशील हो भन्ने कुरालाई मनन गर्नुपर्‍यो । त्यसैले यसका न्युनतम् प्राविधिक पक्ष र जोखिमबारे जान्ने बुझ्नेसँग पर्याप्त ज्ञान लिनु भयो भने सबैलाई फाइदा हुन्छ ।

तपाईंले जोखिमहरुबारे प्राधिकरणलाई जानकारी गराउने त भन्नु भयो, तर कतिपय ठाउँमा प्राधिकरणका कर्मचारीले जानकारी हुँदाहुँदै बेवास्ता गर्छन् नि ?

कतिपय स्थामना हाम्रा कर्मचारीले पनि बेवास्ता र लापरवाही गर्ने गरेको सुन्छौं, यस्तो हुनुहँदैन । यसमा प्राधिकरणले पनि कडाइ गर्छ । हामी कर्मचारीलाई स्पष्ट निर्देशन पनि दिन्छौं, आफ्नो जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन ।

सबैले बुझ्नुपर्छ, विद्युत हाम्रो दैनिक जीवनयापन सहज बनाउनका लागि हो, यो कसैको अकाल मृत्यु र दुःखद दुर्घटनाको कारण बन्नु हुँदैन । त्यसैलेसेचत भएर नै दुर्घटना काम गर्न सबैले भूमिका खेलौं ।

विद्युतीय सुरक्षाका मामिलालाई खेलाँचीको विषय बनाउनु भएन । प्राधिकरणबाट कतै लापरवाही भएको रहेछ भने हामी पनि सच्याउँछौं, सबै पक्षले यसमा सचेत भूमिका निभाउन जरुरी छ । मिडियाले पनि यसमा जनचेतनाका लागि भूमिका खेल्नुपर्छ ।

अहिलेसम्म हामीले गरेका काममा सर्वसाधारणबाट पर्याप्त सहयोग प्राप्त भएको छ, यसमा पनि सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।

विद्युत प्राधिकरणले चाहिँ जोखिम कम गर्न के कस्ता नयाँ योजना बनाएर काम गर्दैछ ?

हो, यो हाम्रो जिम्मेवारी हो । यसका लागि हामीले दुईवटा काम सँगसँगै गनुपर्ने छ, पहिलोः विद्युतको जोखिमबारे जनचेतना जगाउने र दोस्रोः पूर्वाधारलाई पनि कम जोखिमयुक्त हुने गरी सुधार्ने ।

जनचेतनाका लागि ब्यापक रुपमै एउटा अभियान चलाउनुपर्ने मैले महसुस गरेको छु । बिजुली र विद्युतीय उपकरणको कसरी प्रयोग गर्ने, कस्तो अवस्थामा जोखिम बढी हुन्छ, बिजुलीको काम गर्दा कसरी गर्ने, वितरण तथा प्रसारणलाइनमा कस्तो अवस्थामा बढी ‘रिस्क’ हुन्छ । यी लगायतका विषयमा बुझाउन आवश्यक छ । विजुलीका प्राविधिक पाटोमा सर्वसाधारणलाई पर्याप्त ज्ञान नभएको हामीले पाएका छौं । यसबारे एउटा अभियानै जरुरी देखियो, हामी गर्छाैं ।

हामीले पूर्वाधार सुधार्ने काम भने सुरु गरिसकेकका छौं । हामीले काठमाडौंका केही क्षेत्रमा तारहरुलाई अन्डरग्राउन्ड (भूमिगत) गर्ने काम थाल्न लागेका छौं । मुख्यरुपमा विद्युतका कारण हुने दुर्घटना रोक्न नै यो काम थालिएको हो ।

यो कामलाई हामी देशका धेरै जनघनत्व भएका शहरहरुमा विस्तारको योजना बनाउँदैछौं । यो काम त्यति सजिलो छैन, हरेक हिसावले चुनौतीपूर्ण छ । सुरक्षाका लागि यो महत्वूर्ण भएकाले हामीले आँटेका छौं । यो काम हुन्छ ।

सबै ठाउँमा तार अन्डरग्राउन्ड गर्न सम्भव होला ?

हामी विकल्पहरुमा पनि काम गरिरहेका छौं । विद्युतीय दुर्घटनाको जोखिम घटाउने अर्को उपाय भनेको नांगो तार हटाएर प्लास्टिकको कभर भएका तारलाई हाल्नु हो । तर, सबै क्षेत्रमा हालै यो सम्भव छैन । जापानजस्तो देशले पनि सबै नांगो तार हटाएको छैन । हामीजस्तो देशलाई झन कठिन छ ।

तर, मुख्य जोखिमयुक्त शहरी इलाकामा यसको प्रयोग तत्कालै गर्नुपर्छ । धेरै मान्छेहरुको आउ–जाउ र बसोबास भएको तथा नांगो तारले जोखिम निम्त्याउने देखिएका क्षेत्रमा ‘कभर कन्डक्टर’ (प्लास्टिकको कभर भएको तार) हाल्न लागिरहेका छौं । यो कामपछि दुर्घटनाहरु घटेर जान्छन् । हामी विस्तारै नांगो तार हटाउँदै जान्छौं ।

नांगो तारले गाउँघरमा त समस्या छ नै, शहरी क्षेत्रमा त झन बढी जोखिम देखिन्छ, हैन ?

हो । कतिपय बाक्लो बस्ती भएको शहरी इलाकाका गल्ली–गल्लीमा मैले नांगो तार देखेको छु । अस्तिमात्रै पाटनको च्यासलतिरको गल्लीमा गएको थिएँ, त्यहाँका घरका झ्यालबाट कसैले असवाधानीपूर्वक हात निकाल्यो भने नांगो तारमै छुने अवस्था रहेछ । त्यो देखेरै मलाई डर लाग्यो ।

यो अवस्था त हुनु हुँदैन भनेर नै हामीले ५ हजार किलोमिटरको कभर कन्डक्टर किन्न लागेका छौं । टेण्डर भइसकेको छ । अब यस्ता जोखिमयुक्त ठाउँमा त्यसलाई हाल्ने योजना छ । तर, बजेट धेरै चाहिने भएकाले सबै ठाउँमा हाल्न यो सम्भव पनि छैन ।

प्रतिकृया दिनुहोस्