Hamro Sanchar

रोल्पामा जिप दुर्घटना : माघे संक्रान्ति मनाउन माइत हिँडेकी एक महिलाको मृत्यु, १२ घाइते

प्रकाशित : २०७५/१०/१ गते

खेमबहादुर बुढा

लिबाङ, पुस ३०- रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

सदरमुकाम लिबाङबाट मिरुल टुटु जाँदै गरेको लु १ ज ३३३२ नम्बरको जिप सोमबार दिउसो सडकबाट खोलामा खसेको हो । दुर्घटनामा २१ वर्षीया सञ्जु बुढामगरकाे मृत्यु भएकाे हाे । घाइतेमध्ये एकजनाकाे अवस्था चिन्ताजनक छ । निशा रोकामगरकी ९ महिने छोरीको अवस्था चिन्ताजनक रहेकाे प्रहरीले बताएकाे छ ।

परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढामगरका अनुसार परिवर्तन गाउँपालिका–१ कुरेली खरिबोटबाट दिउँसो ३ः३० बजेतिर जिप खोलामा खसेको थियो ।

परिवर्तन गाउँपालिका राङसीकी स्थायी बासिन्दा सञ्जु माघे संक्रान्तिको पर्व मनाउन कुरेलीस्थित माइत हिँडेकी थिइन् । घटनामा उनीसँगै जिपमा सवार उनको भाई र बहिनी समेत घाइते भएका छन् ।

निशा पनि स्थायी घर रोल्पा नगरपालिका–२ सिमलबाङबाट माघेसंक्रान्ति पर्व मनाउन माइत जाँदै गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक थापाका अनुसार दुर्घटनामा १२ जना घाइतेको स्थानीयबासिन्दा र खरिबोट प्रहरीले उद्धार गरेका थिए ।

उनीहरु सबैलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि ल्यायाइएको छ । घाइते सबैको नाम र ठेगाना यकिन भइसकेको छैन ।

प्रतिकृया दिनुहोस्