Hamro Sanchar

अनसनरत डा. केसीविरुद्ध इलाममा युवा विद्यार्थीले निकाले जुलुस

प्रकाशित : २०७५/१०/१ गते

इलाम, पुस ३०– ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीका विरुद्धमा युवा विद्यार्थीले इलाममा सोमबार जुलुस निकालेका छन् ।

‘सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारबाही गर, विधिको शासनको विरोध गर्ने होसियार’जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए ।

विद्यार्थीले अनसनरत डाक्टर केसीको मागको विरोध गरेका थिए ।

उनीहरुले अर्का अनसनरत विद्यार्थी तथा सामाजिक अभियन्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले नागरिकका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए ।

इलाम चोक बजारस्थित थापाको अनसनस्थलबाट सुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो ।

सभामा सम्बोधन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए ।

उनले डाक्टर केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहट’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरेका थिए । यस्तै सभामा सम्बोधन गर्दै अर्का विद्यार्थी इश्वरी तामाङले सबै नागरिकका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताइन ।

उनले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको बताइन ।रासस

प्रतिकृया दिनुहोस्