Hamro Sanchar

अनसनरत डा. गोविन्द केसीलाई निमोनिया, अस्पताल भर्ना

प्रकाशित : २०७५/९/३० गते

तोयानाथ भट्टराई

इलाम, पुस ३०- शिक्षा र स्वास्थ्यमा भएको व्यपारीकरणको अन्त्य र जनताको पक्षमा राष्ट्रिय चिकित्सा ऐन ल्याउन माग गर्दै ६ दिन देखि इलाममा सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई निमोनिया सहितका विभिन्न समस्या देखिएपछि विहान इलाम अस्पतालमा भर्ना गरिएको छ।

इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्र कुमार शाहले डा. केसीको छातिको दाया भागमा निमोनिया देखिएको जानकारी दिए। केसीको मुटुको चाल अनियमित भएको छ, पल्स पनि अनियमित भएको उनले जानकारी दिए।

राति खोकी लाग्ने, मुटुको चाल तलमाथि हुने, बोल्दा आवाज हराउने समस्या आएपछि डाक्टर र उनका सहयोगीहरूको आग्रहमा केसी इलाम अस्पतालमा सर्न राजी भएका हुन्।

इलाम नगरपालिकाको फुलगाछीमा रहेको उनका एक समर्थकको घरमा सत्याग्रह सुरु गरेका केसीलाई सोमबार विहान इलाम अस्पतालमा सारिएको हो।

उनलाई स्लाइन र अक्सिजन लगाइएको छ। संक्रमण रोक्न ऐन्टिबायोटिक्स प्रयोग गर्न अनुरोध गरेपनि केसीले अस्वीकार गरेका छन्।

केसीको प्रेसर ९०/६०, पल्स १०० भएपनि अनियमित, शरीरमा अक्सिजन ८९ प्रतिशत मात्रै रहेको डा. शाहले बताए। उनका अनुसार सामान्य मान्छेको शरीरमा ९५ प्रतिशत भन्दा अक्सिजन हुने उनले बताए। उनको शरीरमा तापक्रम सामान्य छ।

शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसी राष्ट्रिय चिकित्सा विधेयक माफियाको पक्षमा बएको भन्दै सत्याग्रहमा बसेका हुन्।

प्रतिकृया दिनुहोस्