Hamro Sanchar

चौधरी फाउण्डेसनले नेपालमा पाँच सय व्यक्तिलाई निःशुल्क कृत्रिम खुट्टा उपलब्ध गराउने

प्रकाशित : २०७५/९/३० गते

पुस ३०- चौधरी फाउण्डेसनले नेपालमा कृत्रिम खुट्टा वितरण सुरू गरेको छ। दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाएका नागरिकहरू यसबाट लाभान्वित हुनेछन्। आइतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृत्रिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन्।

उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी, भगवान महाविर विकलांग सहायता समिति (विएमभिएसएस)का फाउण्डर डा. डि. आर. मेहता, समितिका निर्देशक शतिस मेहता लगायतको उपस्थिति थियो।

चौधरी फाउण्डेसनले विएमभिएसएससँगको सहकार्यमा नेपालमा कृत्रिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ।

दुवै ठाउँबाट ५०० व्यक्तिहरूका लागि कृत्रिम खुट्टा उपलब्ध गराउने योजना रहेको चौधरी फाउन्डेसनले जनाएको छ। यो सेवा पूर्णरूपमा निःशुल्क उपलब्ध गराइनेछ। कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरूका लागि कृत्रिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशील मानवीय सेवाको काम गरेको बताए। यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारकोतर्फबाट आवश्यक सहयोग गर्ने वचन पनि उनले दिए। फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउँदै व्यवसायिक सफलताका लागि समाजबाट आफूले धेरै कुरा प्राप्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताए।

‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ। त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने, ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाका कामहरूलाई प्राथमिकतामा राखेको छु। कृतिम खुट्टा उपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो।’ अध्यक्ष चौधरीले नेपालमा स्थायी रूपमा कृत्रिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारसँग सहकार्यको प्रस्तावसमेत गरे। सरकारको साथ पाएमा आफूले दिगो रुपमा यो कार्यक्रम नेपालमा सञ्चालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उनले ब्यक्त गरे।

एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृत्रिम खुट्टाको आवस्यकता छ। ‘खुट्टा गुमाएका व्यक्ति हिँडडुल गर्न नसक्ने मात्रै होइन। उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ।’ अध्यक्ष चौधरीले भने, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो।’ नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृत्रिम खुट्टा पाउनु भनेको उसले नयाँ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानवसेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए। कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा. डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफूलाई गौरवको महसुस हुने बताए। जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृत्रिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित संस्था पनि हो । अमेरिकी टाईम म्यागेजिनले यस संस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने सस्थाका रुपमा अवार्ड गरेको थियो ।

प्रतिकृया दिनुहोस्