Hamro Sanchar

पहिलो महिला गुल्मपति बन्छु भन्ने त सोचेकै थिइनँ :सेनानी (मेजर) श्रृष्टि खड्का

म कुनै रेकर्ड बनाउँछु भनेर जागिरमा प्रवेश गरेकी होइन । पहिलो महिला गुल्मपति बन्छु भन्ने त सोचेकै थिइनँ । काम गर्दै जाँदा त्यस्तो अवसर आएको हो । प्रधानसेनापति व्यक्तिले चाहँदैमा प्राप्त हुने पद होइन । यो ‘सिस्टम’ले गाइड गर्ने कुरा हो ।

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/२२ गते

दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छुट्टै महिला गुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो, गत साउनदेखि । सेनाको यो निर्णयसँगै पहिलोपटक महिला सैनिक अधिकृतले गुल्मपति बन्ने मौका पाए र अवसर जुर्‍यो, सेनानी (मेजर) श्रृष्टि खड्कालाई । उपत्यका पृतना अन्तर्गत रहेको गोरखकाली गुल्मकी गुल्मपति खड्कासँगको कुराकानी:

सेनाको जागिर खाने सानैदेखिको रहर हो ?

होइन । सेना भनेको के हो भन्नेचाहिँ थाहा थियो । सेनाको जागिर एकदमै इज्जतिलो हुन्छ भन्ने लाग्थ्यो । तर, सेनामै जागिर खान्छु भन्ने सोच थिएन । महिलालाई सेनामा प्रवेश ढिलो गरी खुलेकाले पनि त्यस्तो सोच नआएको हुन सक्छ ।

तपाईं नेपाली सेनामा छिर्दा मुलुक माओवादी द्वन्द्वको उत्कर्षमा थियो । त्यस्तो बेला सेनामा भर्ती हुन डर लागेन ?

लागेन । घरपरिवारको साथ थियो । भर्ती खुलेको छ भन्ने खबर मेरो दाइले नै मलाई सुनाउनुभएको हो । मुलुकलाई अप्ठ्यारो परेका बेला जिम्मेवारी लिनुपर्छ भन्ने मनमा लाग्यो र फाराम भरिहालेँ । त्यतिबेला म प्लस टूको पढाइ पूरा गरेर बसिरहेकी थिएँ ।

द्वन्द्वमा सहभागी हुनुपर्‍यो कि परेन ?

द्वन्द्वको आमनेसामने गर्नुपरेन । किनभने, हामी तालिम पूरा गरेर ‘पास आउट’ हुँदा द्वन्द्वले अर्कै बाटो लियो । राजनीतिक परिस्थिति फरक ढंगले विकास भइसकेको थियो । ०६२/६३ को जनआन्दोलनका बेला काठमाडौँमा कफ्र्यु लाग्दा भने म ड्युटीमा थिएँ ।

पहिलो महिला गुल्मपतिको जिम्मेवारी सुम्पिएको खबरपछि कस्तो अनुभूति भयो ?

सुरुमा त नर्भस भएँ । जिम्मेवारी पूरा गर्न सकिनँ भने के होलाजस्तो लाग्यो । लगत्तै एकदमै खुसी लाग्यो । अवसर र चुनौती दुवै एकसाथ आएको छ भनेर मनलाई दह्रो बनाएँ ।

यसलाई अवसर कसरी ठान्नुभयो ?

फौजमा कमान्ड एकदमै महत्त्वपूर्ण अवसर हो । तालिममा सिकेका कुरालाई फिल्डमा लागू गर्न पाइन्छ । त्यसअघि मैले कमान्डबारे तालिम लिएकी थिएँ । तर, प्रयोगमा ल्याएकी थिइनँ । त्यसैले यसलाई सिकेको कुरा लागू गर्ने अवसर ठानेकी हुँ ।

गुल्मपति हुनुअघि र पछिको भिन्नता के रहेछ ?

गुल्मको नेतृत्व गर्नुअघि अरूको कमान्डमा र अरूकै निर्णयका आधारमा चल्नुपथ्र्यो । अहिले म आफैँ निर्णय गर्छु । आफ्नो निर्णयले सकल दर्जा मात्र होइन, सिंगो संगठनलाई नै असर गरिरहेको हुन्छ । त्यसैले यस्तो जिम्मेवारीले कामप्रति झनै गम्भीर बनाउने रहेछ ।

अझै पनि पुरुष सम्मिलित टोलीको नेतृत्व महिला सेनाले गरेका छैनन्, किन हो ?

हामी पाएको जिम्मेवारी लिन तयार छौँ ।

महिलाले सक्दैनन् भनेर हो कि ?

नेपाली सेना चेन अफ कमान्डको ‘सिस्टम’मा चल्ने संस्था हो । त्यसैले त्यहाँ महिला वा पुरुष कसले नेतृत्व गर्छ भन्ने कुराले त्यति फरक अर्थ राख्दैन । सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ ।

सेनाको जागिरे नभएको भए के बन्नुहुन्थ्यो होला ?

मलाई समाज सेवामा रुचि थियो, छ । त्यसैले कुनै सामाजिक सेवामा हुन्थेँ । नभए पनि शिक्षण पेसामा आबद्ध हुने थिएँ होला ।

पहिलो गुल्मपति भएपछि पक्कै पनि पहिलो महिला प्रधानसेनापति हुने महत्त्वाकांक्षा पनि त होला नि ?

म कुनै रेकर्ड बनाउँछु भनेर जागिरमा प्रवेश गरेकी होइन । पहिलो महिला गुल्मपति बन्छु भन्ने त सोचेकै थिइनँ । काम गर्दै जाँदा त्यस्तो अवसर आएको हो । प्रधानसेनापति व्यक्तिले चाहँदैमा प्राप्त हुने पद होइन । यो ‘सिस्टम’ले गाइड गर्ने कुरा हो । त्यसैले मलाई प्रधानसेनापति बनेर इतिहास रच्छु भन्ने लालसा छैन । सिस्टम र क्षमता अनुसार काम गर्ने हो ।

(नेपाल साप्ताहिकका लागी मनबहादुर बस्नेतले लिएको अन्र्तवार्ता)

 

प्रतिकृया दिनुहोस्