Skip

Hamro Sanchar

कागेश्वरी ७ को चाडपर्व योजना : बिग्रिएका सडक गुनासो टिपेर मर्मत, बिधुतको समस्या समाधान

प्रदिप नेपाली प्रकाशित : २०८० कात्तिक, ४ गते


काठमाडौं, कात्तिक ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ ले वर्षायामका कारण खाल्डाखुल्डी भै बिग्रिएका मुख्य तथा सहायक सडक गुनासो टिपेर मर्मत सम्भार गरेको छ ।

वडा कार्यालयले गत असोज २१ गते सार्वजनिक सूचना निकालेर १ हप्ताभित्र आफ्नो टोल, छिमेकभित्र रहेका अति आवश्यक भएका मुख्य, सहायक र भित्री सडक मर्मत सम्बन्धमा आफ्नो टोल र सम्बन्धित व्यक्तिको नाम र सम्पर्क नम्बरसहित टिपोट गराउन वडा अन्तर्गतका सम्पूर्ण टोल सुधार समिति एवं उपभोक्ता समितिहरुलाई अनुरोध गरेको थियो ।

टिपोटमा आएका सडकहरुको जनप्रतिनिधिहरु तथा प्राविधिकको स्थलगत निरिक्षण पश्चात प्राप्त प्रतिवेदनका अनुसार नगरपालिकाको र्यापिड रेस्पोन्स टीमको सहयोगमा मर्मत सम्भार, खाल्डाखुल्डी पुर्ने, रोलिङको प्रयोगसहित ग्राभेलिंग गर्ने, मेनहोल कभर हाल्ने काम सम्पन्न गरिएको वडाअध्यक्ष भीमसेन थापाले हाम्रोसंचारलाई जानकारी दिए ।

वर्षायामका कारण सडकमा खाल्डाखुल्डी भै बिग्रिएका कारण सवारी आवतजावत र हिडडुल गर्नमा असुविधा भएकाले चाडपर्वको बेला यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन वडाले यस्तो कदम चालेको वडाअध्यक्ष थापाले बताए ।

यस्तै वडाको मुलपानी पिपलबोटस्थित बिधुतको समस्या समाधान गरेको छ । विधुतीय पोल बाटोमा पर्न गइ दुर्घटना हुने, सवारी आवागमनमासमेत समस्या व्यहोर्नु परेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको बिशेष पहल र वडाअध्यक्ष थापाको अथक प्रयास पश्चात्  पिपलबोटस्थित जिर्ण र धराप बनेको बिधुतको पोल सारेर ट्रान्सफर्मरको क्षमता वृद्धि गरि नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । उक्त ट्रान्सफर्मरले क्षमता धान्न नसकेर पटक-पटक आगलागी हुने, ट्रान्सफर्मर पड्कने लगायतका समस्या हुँदै आएको थियो ।

बिधुत प्राधिकरण तथा नगरपालिकाको सहलगानीमा स्थानीयको अपेक्षाअनुरुप उक्त कार्य सम्पन्न गरेको वडाअध्यक्ष थापाको भनाइ छ ।

यस्तै वडाले नजिकिँदै गरेको बडादशैं, दिपावली तथा छठ पर्वलाई लक्षित गरी बजारका खाद्य, मासु तथा फलफूल पसलहरुका अनुगमन गरेको थियो ।


प्रतिकृया दिनुहोस्