Hamro Sanchar

कागेश्वरीका प्रत्येक सामुदायिक विद्यालयलाई एक-एक विधामा प्राविधिक क्षेत्रमा लैजान्छौ- मेयर कार्की

प्रदिप नेपाली प्रकाशित : २०८० असोज, २५ गते


Advertisement

काठमाडौं, असोज २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर नगरपालिकाको शिक्षा शाखाले बुधबार आयोजना गरेको पुरस्कार वितरण, एसइई सम्मान शिक्षक सम्मान एवम् बिबिध कार्यक्रममा बोल्दै मेयर कार्कीले सो कुरा व्यक्त गरेका हुन् ।

सो अवसरमा बोल्दै शिक्षा क्षेत्र सुधार विना अन्य क्षेत्रको विकास सोचे जस्तो उपलब्धि पाउन कठिन हुने भएकोले नगरपालिकाभरका विद्यालयमा योजनासहित काम सुरू भएको पनि मेयर कार्कीले बताए । उनले प्राविधिक शिक्षाबाटै अन्य क्षेत्रको सीपयुक्त जनशक्ति उत्पादन हुने भएकाले नगरपालिकाभित्र संचालित सबै सामुदायिक विद्यालयमा एक-एक विधामा प्राविधिक क्षेत्रमा लैजाने योजना रहेको जानकारी दिए । साथै उनले नगरपालिकाको तेजविनायक माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८० देखि प्राविधिक तथा ब्याबसायिक धार तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान कक्षा संचालन गर्दै आएको बताए ।

‘प्राविधिक शिक्षाबाटै अन्य क्षेत्रको सीपयुक्त जनशक्ति उत्पादन हुने हो । नयाँ सुरुवातको रुपमा नगरपालिकाको तेजविनायक माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८० देखि प्राविधिक तथा ब्याबसायिक धार तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान कक्षा संचालन गरेका छौं । यसको अध्ययन गर्न अन्य विद्यालयमा साढे ४ देखि ५ लाखसम्म खर्च हुने रैछ तर हामीले मासिक एक हजारमा अध्ययन गराइरहेका छौं । विद्यालयलाई आवश्यक शिक्षकको व्यवस्था, भौतिक पूर्वाधार, आर्थिक लगायतमा सहयोग उपलब्ध गराउछौं । सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले आगामी दिनमा हरेक सामुदायिक विद्यालयलाई एक-एक विधामा प्राविधिक क्षेत्रमा लैजाने योजना रहेको छ’, उनले भने ।

उनले सामुदायिक विद्यालयमा अत्यन्तै गरिब र बिपन्न बालबालिका अध्ययन गर्ने र बिभिन्न समस्या उत्पन्न हुने गरेकाले त्यस्ता विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनबाट बन्चित हुने भन्दै चिन्ता व्यक्त गरे । त्यस प्रकारका विद्यार्थीले स्वास्थ्य समस्या भोग्नु परेकाले ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ संचालन गरेको बताउदै हरेक ६ महिनामा नियमित चेकजाँच गर्ने उनको भनाई छ ।

नगरपालिकाको वडा नम्बर ८ मा रहेको विद्यालय कम्प्युटर विज्ञान कक्षा संचालन गर्ने एक मात्र विद्यालय हो । हाल कक्षा ९ मा १८ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

देशमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले २०७० सालमा शिक्षा विभाग मार्फत शुरू गरिएको प्राविधिक तथा व्यावसायिक कक्षा संचालन गर्ने सामुदायिक विद्यालयको संख्या बढ्दै गएको छ । प्राविधिक धारतर्फ कक्षा ९-१२ मा विद्यालयको छनोट अनुसार बाली विज्ञान, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ अथवा इलेक्ट्रोनिक्स इन्जिनियरिङमध्ये कुनै एउटा विषयको पढाइ हुन्छ । सामाजिक आर्थिकरूपले पछि परेका विद्यार्थीको प्राविधिक शिक्षामा समतामूलक पहुँच होस् भन्ने यो कार्यक्रमको प्रमुख लक्ष्य हो ।


प्रतिकृया दिनुहोस्