काठमाडौं, साउन २५-सरकारले नाफामूलक निजी विद्यालय स्थापनामा रोक लगाउने व्यवस्था सहितको शिक्षा विधेयक ल्याउने तयारी गरेपछि निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिएका छन् ।
निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनब्याब्सन र हिसानले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि नै विद्यालय बन्दसम्मको घोषणा गरिसकेका छन् । हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई ५ वर्षभित्र गैरनाफामूलक शैक्षिक गुठीबाट मात्र सञ्चालन गर्ने विधेयकको प्रस्ताव छ ।
मन्त्रिपरिषद्बाट गत साता पारित ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०’ संसद्बाट हुबहु पारित भए हाल सञ्चालनमा रहेका करिब ८ हजार निजी विद्यालयलाई पाँच वर्षभित्रमा शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्नेछ ।
विधेयकमा ‘शैक्षिक गुठी भन्नाले कुनै पनि व्यक्तिले नाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको सार्वजनिक वा निजी गुठी सम्झनुपर्छ’ भनिएको छ । निजी सञ्चालकहरुले विधेयकको उक्त प्रावधान संशोधन हुनुपर्ने माग अघि सारेका छन् ।