Hamro Sanchar

आफ्ना माग पुरा नभए साउन २८ गतेदेखि निजि बिध्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने सञ्चालकहरूको चेतावनी

सरकारले आफ्नो अरबौंको सम्पत्तिस सरकारीकरण गर्न लागेको भन्दै निजि बिद्यालय संचालकहरुको आपत्ति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २३ गते


Advertisement

काठमाडौँ, साउन २३- आगामी साउन २७ गते सम्ममा आफ्ना माग पुरा नगरे साउन २८ गतेदेखि निजि बिध्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी विद्यालय सञ्चालकहरूले चेतावनी  दिएका छन् ।

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० प्रति निजी विद्यालय सञ्चालकहरू आक्रोशित बनेका छन् । ऐनको मस्यौदामा उल्लेख गरिएका विषयहरूप्रति उनीहरूले असहमति जनाएका हुन् ।

मस्यौदाका विषय सच्याउनको लागि साउन २७ गतेसम्मको समय दिएका छन् । त्यसपछि बाध्य भएर विद्यालय बन्दको कार्यक्रममा जाने चेतावनी दिएका छन् । अनिश्चितकालीन विद्यालय बन्द गर्नुका साथै भदौ १ गतेदेखि विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गरेर सवारी आवागमन नै ठप्प पार्ने चेतावनी उनीहरूको छ । निजी विद्यालय क्षेत्रमा आफूहरूले झन्डै ५ खर्ब लगानी गरेको भन्दै उनीहरूले विद्यालयलाई शैक्षिक गुठीको रूपमा परिणत गर्न नसक्ने बताए ।

काठमाडौँमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्याब्सनका निवर्तमान अध्यक्ष टिकाराम पुरीले आफूहरू शिक्षासेवी भएको तर, राज्यले माफिया जस्तो देखाउने गरेको आरोप लगाए । ‘हामी शिक्षासेवी हौं । माफिया होइनौं । हामीलाई शिक्षा माफिया भनियो भने हामी अन्यायमा पर्छौ,’ पुरीले भने ।

ऐनको मस्यौदामा ५ वर्षभित्रमा निजी विद्यालयहरू शैक्षिक गुठीमा जानुपर्ने व्यवस्थाले आफूहरूलाई असह्य भएको बताए । आफूहरूलाई थाहै नदिई सरकारले आफूहरूको संरचनामाथि धावा बोल्ने काम गरेको उनको भनाइ छ । ‘गर या मर’ को अवस्थामा पुगेपछि आफूहरू विद्यालय बन्द जस्ता कठोर कार्यक्रमहरू ल्याउन बाध्य भएको बताए ।

‘हाम्रो सम्पूर्ण जीवन यसैमा खर्च गरेका छौँ । हाम्रो लगानी यसैमा लगाएका छौँ । हामीले यत्रो दुःख मिहेनत गरेर हुर्काएपछि अहिले आएर सरकार अब त्यो सबै संरचना सार्वजनिकीकरण गर भन्यो भने कसलाई सह्य होला ?’ उनले प्रश्न गरे ।

प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सरकारले आफूहरूको घाँटीमा पासो थाप्ने काम गरेको बताए ।

५ वर्षभित्रमा गुठीमा जानुपर्छ भन्नुको अर्थ घुमाउरो पारामा सार्वजनिक विद्यालय बनाऊ भन्न खोजिएको उनको भनाई छ । २०५८ सालमा निजी विद्यालयहरूलाई सहकारी, कम्पनी र गुठी कुन अन्तर्गत जाने भनेर छनौट गर्ने विकल्प दिइएको थियो । त्यो बेला निजी विद्यालयहरू कम्पनी अन्तर्गत गएर दर्ता भएका थिए । तर, राज्य आज फेरि कम्पनी अन्तर्गतका विद्यालयहरूलाई गुठीमा लैजान खोजिरहेको भन्दै त्यो हुनै नसक्ने बताए ।

‘हाम्रो ५ खर्ब भन्दा बढी लगानी भएको छ । राज्यले त्यसको उचित मूल्याङ्कन गरेर क्षतिपूर्ति देओस्, हामी राज्यलाई सुम्पिन तयार छौँ । त्यक्तिकै हामी कसरी राज्यलाई दिन सक्छौं ?’ उनले प्रश्न गरे ।

एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले राज्यले ‘रूल अफ ल’ को सिद्धान्त विपरीत विभेदकारी ढंगबाट ऐन ल्याउन खोजेको बताए । संविधानले नै सम्पत्तिको हकको व्यवस्था गरेकोमा ऐनमा आफूहरूको सम्पत्ति नै सार्वजनिकीकरण गर्न खोजेको बताए ।

सरकार एकलौटी ढंगबाट अगाडि बढ्न खोज्नु भनेको लोकतन्त्र भावना विपरीतको कार्य हुने र त्यसका विरुद्धमा सशक्त भएर लड्ने चेतावनी दिए ।

हिसानका अध्यक्ष रमेश सिलवालले ऐनको मस्यौदामा भएका कतिपय कुराहरू गैरसंवैधानिक रहेको र ति संविधान अनुसार नै खारेज हुने बताए ।

संविधानले कसैको सम्पत्ति लिने अधिकार नदिएको भन्दै त्यस्तो गर्न खोजेमा राज्यलाई गम्भीर क्षति हुने चेतावनी दिए । मस्यौदामा भएका विषयहरू मन्त्रिपरिषद्बाटै फिर्ता हुनुपर्ने उनको भनाई छ । राज्य सबैको अभिभावक भएको भन्दै आफूहरूमाथि अन्याय गर्न नहुने बताए ।

‘राज्य अभिभावक हो । हामीमाथि नियमन गर्न पाउँछ । त्यसका लागि हामी नै सहयोग गर्दै आएका छौँ । थप सहयोग गर्छौ । तर, नियोजन र नियन्त्रण गर्ने कुरामा हाम्रो असहमति हो,’ उनले भने ।


प्रतिकृया दिनुहोस्