Hamro Sanchar

कागेश्वोरी मनोहरा नगरपालिका र राखेपबिच ‘खेलकुद नगरी’ बनाउने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर

कागेश्वरीलाई खेलकुद नगरीको रुपमा विकास गर्न गृहकार्य सुरु

प्रदिप नेपाली प्रकाशित : २०८० बैशाख, २८ गते


Advertisement

काठमाडौं, बैशाख २८- खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र खेलकुदको माहोल बनाउँदै विशिष्ट योजनासहित अगाडि बढेको काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र राष्टिय खेलकुद परिषदबिच ‘खेलकुद नगरी’ बनाउने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा बिहिबार एक कार्यक्रमकाबिच नगरपालिकाका मेयर उपेन्द्र कार्की र राखेप सदस्य सचिव टंकलाल घिसिङले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा मेयर कार्कीसहित उप-मेयर शान्ता थापा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलालगायत नगरपालिकाभित्रका वडाअध्यक्षहरु, नगरपालिकाको इन्जिनियरिङ शाखा, खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिका पदाधिकारी र राखेपका विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनामा राखेपले साथ दिएको भन्दै मेयर कार्कीले खुसी व्यक्त गरे ।  मेयर कार्कीले नगरपालिकाको खेलकुद नगरी बनाउने महाअभियानमा राष्टिय खेलकुद परिषदलाई जोड्न पाउदा आफुलाई गर्वको अनुभुति भएको बताए । राखेप सदस्य सचिवको खेलकुद प्रतिको लगाव र चिन्ताका कारण पनि आफनो अभियान सोचे भन्दा सफल हुने मेयर कार्कीको दावी छ ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले नगरपालिकाले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफु तयार रहेको बताए । विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्टिय र अन्तराष्टिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राखेपका सदस्य-सचिव घिसिङले यसअघि नै नगरपालिकाका विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन गरिसकेका छन् ।

नगरलाइ स्पोर्टस सिटी (खेलकुद नगरी)को रुपमा विकास गर्न नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममै समेटेको छ ।


प्रतिकृया दिनुहोस्