काठमाडौं, बैशाख ५- कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले मुलपानी क्रिकेट मैदानमा आजबाट संचालन भएको अन्तराष्ट्रिय प्रतियोगिता ‘एसिसी मेन्स प्रिमियर कप’ उद्घाटन गरेका छन् । नगरप्रमुख कार्कीले ब्याटिङ गरेर हङकङ र सिंगापुरबीचको क्रिकेट प्रतियोगिता उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन बिहान ९ बजे भएको हो ।
मैदानमा आज पहिलो अन्तराष्ट्रिय खेलका रुपमा हङकङ र सिंगापुरबीचको खेल हुँदैछ ।
‘एसिसी मेन्स प्रिमियर कप’मा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
नेपालले पहिलो खेल मलेसियासँग त्रिवि मैदानमा खेलिरहेको छ । यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।
मुलपानी मैदानमा एसीसी प्रिमियर कपको एक सेमिफाइनल समेत गरेर ११ खेल आयोजना हुदैछ ।